विगत ३२ वर्षदेखि शिक्षण क्षेत्रमा सक्रिय सीता शर्मा पन्थी सिद्धार्थ माविकी शिक्षिका हुन् । उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेकी छिन् । साहित्यमा रुचि भए पनि लेखन कार्य कहाँबाट शुरू गर्ने अन्योलमा परेकी उनलाई कोरोना कहरको लकडाउनले साहित्यतर्फ अघि बढायो । त्यसयता उनले नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएकी छिन् । साहित्य पारखी शिक्षिका पन्थीसँग गरिएको कुराकानी ः
साहित्यतर्फ कसरी लाग्नुभयो ?
नेपाल र भारत दुवैतिर पढेकाले नेपाली विषयमा कमजोर थिए । नेपाली विषयको कमजोरीलाई हटाउन कसरी सकिन्छ ? शुद्ध लेखन गर्न कसरी सक्छु ? भन्ने चासो भयो । नेपाली विषयलाई नै प्राथमिकता दिएर पढ्न र सिक्न थालेँ । साहित्य र कला सबै मानवलाई मन पर्ने विषय हो । कविता पढ्न र वाचन गर्न अत्यन्तै मन पथ्र्यो । कविता लेखन गर्न अत्यन्तै मन थियो । कहाँबाट लेख्न शुरू गर्ने, कसरी शुरू गर्ने भन्ने ज्ञान थिएन । पहिला व्याकरण पनि कमजोर थियो । कोरोना कहरमा भएको लकडाउनले नेपाली साहित्यकार बनायो । घरमा बसेर नेपाली साहित्यमा अनलाइन कक्षा गरेर साथीहरूसँग जोडिए । घरमा बसेर अभ्यास गर्न थालेँ । निरन्तर अभ्यासले सिकाइमा केही न केही प्रभाव पार्छ भनेजस्तै साहित्यमा निरन्तर अभ्यासले साहित्यकार बनाएको छ । अनलाइन कक्षाबाट साहित्य लेखन सिक्ने भएकोले हरेक दिन एकएक वटा विधामा लेख्नु पर्छ । पहिला एउटा कविता लेख्न ३÷४ दिन लाग्थ्यो । अहिले ३० मिनेटमा लेख्छु ।
तपाईंले लेखेका कृतिहरू प्रकाशित गर्नुभएको छ ?
पत्रपत्रत्रिकामा लेख प्रकाशित भइरहेका छन् । गजलमा लय मिलाएर लेख्नुपर्ने हुन्छ । गजल लेख्न ७ देखि १५ दिनसम्म लाग्न सक्छ । मनमा भएको भावलाई अनुप्रास मिलाएर चारुमा व्यक्त गरिन्छ । चारु सुन्दा गजलजस्तै राम्रो लाग्छ । लेख्न छिटो हुन्छ । कोपिला संयुक्त संग्रह र चारु संयुक्त संग्रहमा लेखेको छु । मधेश प्रदेशमा कोपिला संयुक्त संग्रह निस्किने तयारीमा छ । चारुको एकल संग्रह भानु जयन्तीमा विमोचन गर्ने योजनामा छु ।
नेपाली साहित्यको अवस्था कस्तो पाउनुभएको छ ?
पहिलाको तुलानामा नेपाली साहित्यको अवस्था राम्रो छ । वीरगञ्जबाट पनि धेरै साहित्यको उत्थान भएको छ । पहिलादेखि नै नारायणी वाङ्मय प्रतिष्ठान थियो । अहिले पनि प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ । साहित्य विधा आफैमा विस्तृत विधा हो । गहिरिएर सोच्ने हो भने साहित्यले सबै क्षेत्रलाई समेटेको हुन्छ । समाजका विसंगती, कुरीतिहरूलाई साहित्यले नै उजागर गरिरहेको हुन्छ । साहित्यमा धेरै रहस्य हुन्छ । साहित्य अनुरागी, साहित्यप्रेमीले मात्र साहित्यको भाषा बुझ्छ । पहिलाको तुलनामा धेरै मानिस साहित्यमा लागेका छन् । साहित्यले धेरै परिवर्तन पनि गरेको छ ।
साहित्यले रीतिरिवाज, संस्कारलाई संरक्षण गर्न सक्छ ?
साहित्यले भाषा, कला, संस्कृती रीतिरिवाज र परम्परा सबैलाई समेटेको हुन्छ । साहित्यले सय प्रतिशत नै नेपाली कला र संस्कृतिको संरक्षण गरेको छ । साहित्यले विभिन्न भाव र महत्वलाई दर्शाइरहेको हुन्छ । गीत, कविता, कथा, गजल र उपन्यास विभिन्न माध्यमबाट व्यक्त गरिरहेका हुन्छन् । साहित्यले व्याकरण सीप, भाषा सीप, लेखन सीप र व्याकरणमा शुद्धतामा विकास गरिरहेको हुन्छ । अहिले विद्यालयहरूमा पनि साहित्यमा रुचि भएका विद्यार्थीहरू पनि छन् । उनीहरू लेखन र वाचनले साहित्य क्षेत्रमा अझै विकास हुने देखिएको छ ।
साहित्यको विकासका लागि कस्तो वातावरण आवश्यक छ ?
स्थानीय सरकार, नेपाल सरकारले साहित्यमा प्राथमिकता दिएर विभिन्न कार्यक्रम राखेर साहित्यमा रुचि भएकाहरूलाई प्रोत्साहन गर्ने काम गरेमा साहित्य क्षेत्र अगाडि बढ्ने थियो । बालबालिकाहरूलाई पनि साहित्यप्रति रुचि बढ्थ्यो । जसले गर्दा विद्यार्थीहरूमा नकारात्मक सोचको विकास हुन पाउँदैन । विद्यालयस्तरका साहित्यक कार्यक्रमहरू गर्नुपर्छ ।
विद्यालयस्तरमा कस्ता कार्यक्रम गर्नुपर्छ ?
नेपाली साहित्यको विकासको लागि किताबमा भएको पाठ्यक्रमको कथा र कवितामात्र नभएर हरेक शुक्रबार विद्यार्थीहरूलाई जागरुक गराएर भाग लिन लगाउने, विद्यालयस्तरीय प्रतियोगिता गराउने, सम्मान गर्ने र हौसला दिने काम गरेमा नेपाली साहित्यको विकासमा सहयोग हुन्छ ।
साहित्य कृतिको बजारीकरण कत्तिको सहज छ ?
लेखकहरूले पुस्तक बिक्री गरेर कमाउने उद्देश्यले प्रकाशन गरेको हुँदैन । लेखकले आफ्नो कृति प्रकाशन गर्ने चाहना राखेको हुन्छ । किताब निकाल्दा लगानी लागेको हुन्छ । कतिपयले बुझेर दिनुहुन्छ । कतिपय संघसंस्थाहरूमा निःशुल्क वितरण गरेका हुन्छौं । आफ्ना कृतिहरू पु¥याउनका लागि पुस्तक धेरै ठाउँमा निःशुल्क वितरण गर्छौं ।
साहित्यले व्यक्तिमा कस्तो परिवर्तन ल्याउँछ ?
साहित्यले धेरै परिवर्तन गर्छ । मानिसको बौद्धिक विकास हुन्छ । साहित्यमा लागेको मानिसको समाजमा मानप्रतिष्ठा, सम्मान र इज्जत बढ्छ । आफूले लेखेको रचना आफैँले पढ्दा पनि एक प्रकारको छुट्टै खुशी हुन्छ । खुशी खोज्न बाहिर जानु पर्दैन । लेख्ने साहित्यकार भइसकेपछि खुशी आफैँभित्र पाइन्छ । साहित्यले स्वयम् लेखकको साथसाथै समाजमा पनि परिवर्तन ल्याउँछ ।