मानिसले चन्द्रमाको गति नाप्न सिक्यो, विज्ञानले कृत्रिम मुटु प्रत्यारोपणसम्म सम्भव बनायो, तर आज पनि हाम्रो समाजको एउटा ठूलो हिस्सा महिलाको प्राकृतिक शारीरिक प्रक्रियालाई “अशुद्ध” भन्ने सोचबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । महिनावारी, जुन सृष्टि निरन्तरतासँग जोडिएको जैविक प्रक्रिया हो, त्यसलाई अन्धविश्वास, विभेद र अपमानसँग जोडेर हेर्ने प्रवृत्ति अझै समाजका विभिन्न तहमा जीवित छ। विशेषतः छाउप्रथाजस्तो अमानवीय अभ्यासले आज पनि धेरै महिलाको स्वास्थ्य, आत्मसम्मान र जीवनमाथि प्रश्न खडा गरिरहेको छ ।
उसो त नेपाल सरकारले छाउप्रथालाई कानुनी रूपमा अपराध घोषणा गरिसकेको छ । विभिन्न अभियान, चेतनामूलक कार्यक्रम र सामाजिक बहसहरू पनि भइरहेका छन् । तर, कानूनले मात्र सोच बदल्न सकेको छैन । धेरै गाउँहरूमा अझै महिलाहरू महिनावारी भएका बेला घरबाहिर गोठ वा छाउगोठमा बस्न बाध्य छन् । कतै उनीहरूलाई भान्छा छुन दिइँदैन, कतै मन्दिर जान रोक लगाइन्छ, कतै त आफ्नै परिवारको सदस्यसँग खुलेर बोल्न पनि संकोच गराइन्छ । यस्तो व्यवहारले महिलाको शरीर मात्र होइन, मन र आत्मविश्वासलाई पनि चोट पु¥याइरहेको हुन्छ ।
२०७६ सालमा अछामकी एक किशोरीले छाउगोठमै ज्यान गुमाएको घटना समाचारमा आयो । त्यसपछि यस्ता थुप्रै घटना सार्वजनिक हुन थाल्यो धुवाँको निसास्सिएर मृत्यु भएकी ती किशोरीको अपराध केवल यति थियो–उनी महिनावारी भएकी थिइन् । यो एउटा घटनामात्र होइन, हाम्रो सामाजिक चेतनाको कमजोर ऐना हो । विज्ञानले महिनावारीलाई सामान्य जैविक प्रक्रिया भनिरहँदा समाजले अझै त्यसलाई पाप वा अशुद्धतासँग जोड्नु अत्यन्त दुःखद पक्ष हो ।
छाउप्रथा केवल परम्परा होइन, यो महिलामाथिको विभेदको एउटा रूप हो । जब एउटी किशोरीलाई महिनावारी भएकै कारण विद्यालय जान डर लाग्छ, जब उसले सेनेटरी प्याड लुकाएर बोकेर हिँड्नुपर्छ, जब आफ्नै शरीरप्रति उसलाई घृणा उत्पन्न गराइन्छ, त्यहाँ समाजले उसको आत्मविश्वासमाथि प्रहार गरिरहेको हुन्छ । अझ ग्रामीण भेगमा महिनावारीसम्बन्धी खुला छलफलको अभावले धेरै किशोरीहरू मानसिक तनाव, संक्रमण र असुरक्षाको शिकार भइरहेका छन् ।
समस्या केवल गाउँको मात्र होइन । शहरमा शिक्षित भनिएका परिवारभित्र पनि महिनावारीलाई लाजको विषय मान्ने प्रवृत्ति अझै बाँकी छ। ‘यो कुरा खुलेर नबोल’, ‘कसैलाई थाहा नहोस’ भन्ने संस्कारले नयाँ पुस्तालाई समेत मौन बनाइरहेको छ । परिणामतः किशोरीहरू आफ्नो स्वास्थ्यबारे खुलेर प्रश्न गर्न डराउँछन् । परिवर्तनका लागि केवल नारामात्र पर्याप्त हुँदैन । परिवारभित्रैबाट सोच परिवर्तन हुन आवश्यक छ । महिनावारीबारे छोरीलाई मात्र होइन, छोरा र पुरुष सदस्यलाई पनि सही शिक्षा दिनुपर्छ । विद्यालयका पाठ्यक्रमहरू व्यवहारिक र वैज्ञानिक हुनुपर्छ। धार्मिक वा सांस्कृतिक मान्यताको नाममा महिलालाई अपमानित गर्ने परम्परालाई निरन्तरता दिनु कुनै पनि सभ्य समाजको चिन्ह हुन सक्दैन ।
सञ्चारमाध्यम, साहित्य, गीत, नाटक र सामाजिक सञ्जालले पनि यस विषयमा ठूलो भूमिका खेल्न सक्छन् । जब समाजले महिनावारीलाई सामान्य रूपमा स्वीकार्न थाल्छ, तबमात्र किशोरीहरू डर होइन, आत्मविश्वासका साथ बाँच्न सक्छन्। महिलाको सम्मान गर्ने समाजले नै वास्तविक विकासको अर्थ बुझ्न सक्छ ।
आज आवश्यकता केवल छाउगोठ भत्काउने होइन, मानिसको सोच भत्काउने हो । जबसम्म महिनावारीलाई ‘लाज’ होइन ‘प्राकृतिक प्रक्रिया’ भनेर बुझिँदैन, तबसम्म परिवर्तन अधुरो नै रहनेछ । समाज बदलिन समय लाग्न सक्छ, तर परिवर्तनको सुरुवात एउटा प्रश्नबाट हुन्छ–‘जुन प्रक्रियाबाट सृष्टि चलिरहेको छ, त्यही प्रक्रियालाई किन अपमान गरिन्छ ?’
नेपालमा छाउप्रथा अन्त्यका लागि सरकारले कानूनी प्रतिबन्ध लगाएपछि धेरै जिल्लामा छाउगोठ भत्काउने अभियान चलाइयो । स्थानीय तह, प्रहरी र विभिन्न संघसंस्थाले सयौं छाउगोठ भत्काएको समाचार सार्वजनिक भए । तर, प्रश्न अझै बाँकी छ–के केवल गोठ भत्किँदैमा सोच बदलियो त ? धेरै दुर्गम गाउँहरूमा अहिले पनि महिलाहरू महिनावारी हुँदा घरको कुनामा अलग बस्न बाध्य छन् । कतै उनीहरूलाई दूध, दही वा पौष्टिक खाना खान रोक लगाइन्छ भने कतै धार्मिक गतिविधिबाट टाढा राखिन्छ । गोठको स्वरूप फेरिए पनि विभेदको मानसिकता अझै बाँकी छ ।
हालै कर्णाली र सुदूरपश्चिमका केही दुर्गम बस्तीहरूमा गरिएको स्थानीय अध्ययन तथा सञ्चारमाध्यमका रिपोर्टहरूले देखाएका छन् कि कानून बनेपछि छाउगोठ त भत्काइए, तर धेरै परिवारले घरनजिकै अस्थायी टहरा बनाउने वा महिलालाई गोठकै झैँ अलग राख्ने अभ्यास भने छोडेका छैनन् । कतिपय किशोरीहरू विद्यालय जानै छोड्ने, संक्रमणको डरमा बस्ने र मानसिक तनाव भोग्ने अवस्थासमेत देखिन्छ । यो अवस्थाले स्पष्ट पार्छ–समस्या केवल संरचनाको होइन, सोचको हो । ‘छाउगोठ भत्काउनु सजिलो थियो, तर पुस्तौंदेखिको अन्धविश्वास भत्काउन अझै संघर्ष जारी छ ।’