नेपाली कांग्रेसबाट उम्मेदवार भई जनप्रतिनिधि बनेका तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूले क्रियाशील सदस्यता आज मध्यरातसम्म अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने भएको छ। तोकिएको समयसीमा भित्र अद्यावधिक नगरे आगामी असोजमा हुने १५औं महाधिवेशनमा सहभागी हुन नपाइने चेतावनी पार्टीले दिएको छ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलका अनुसार संघीय संसदका सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू सबैले जेठ २७ गतेभित्र आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमिति, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरूलाई पनि आज मध्यरातसम्म अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ।
भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई समेत निर्धारित समयभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरिएको छ।
कांग्रेसले जेठ १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सुरु गरेको हो। पार्टीका अनुसार क्रियाशील सदस्यका लागि भने भोलि मध्यरातसम्म समय उपलब्ध हुनेछ।
गत पुससम्म नवीकरण तथा नयाँ क्रियाशील सदस्यता लिएका व्यक्तिहरूलाई थप विवरण माग गर्दै हाल अद्यावधिक प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ।