नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब डेढ दशक बितिसकेको छ । यसको उपलब्धि, चुनौती र जनअपेक्षाबारे बहस तीव्र बनेको छ । राजनीतिक परिवर्तनसँगै जनजीवनमा अपेक्षित सुधार हुन नसक्दा गणतन्त्रलाई कसरी जनमुखी र प्रभावकारी बनाउने भन्ने प्रश्न भने अझै सान्दर्भिक बनेको छ ।
२०६५ जेठ १५ मा राजतन्त्र अन्त्यसँगै स्थापित गणतन्त्रलाई नेपाली जनताले समानता, सामाजिक न्याय, समावेशिता, सुशासन र समृद्धिको नयाँ युगको सुरुआतका रूपमा हेरेका थिए ।
तर, विशेषज्ञ, कानुन व्यवसायी, सञ्चारकर्मी, राजनीतिकर्मी तथा सामाजिक अभियन्ताहरूले गणतन्त्रको संस्थागत विकासका लागि राजनीतिक संस्कार, सुशासन, उत्तरदायी राज्य, आर्थिक विकास र जनसहभागिता अपरिहार्य रहेको बताएका छन् । गणतन्त्र केवल शासन प्रणालीको नाम नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हुनुपर्ने उनीहरूको साझा धारणा देखिन्छ ।
मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य गणतन्त्रलाई बलियो बनाउन संविधानको प्रभावकारी कार्यान्वयन पहिलो शर्त रहेको बताउँछन् । शाक्यका अनुसार संविधानले सुनिश्चित गरेका मौलिक हक, समावेशिता, संघीयता र समानुपातिक प्रतिनिधित्व व्यवहारमा पूर्ण रूपमा लागू हुन सके मात्र जनतामा गणतन्त्रप्रति विश्वास बलियो हुन्छ । उनी संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने र लोकतान्त्रिक संस्कारको विकास आवश्यक रहेकोमा जोड दिन्छन् ।
शाक्यले भने, ‘संघीयताको सफल कार्यान्वयनलाई पनि गणतन्त्र संस्थागत गर्ने आधार मानेका छन् । स्थानीय तहलाई अधिकार र स्रोत सम्पन्न बनाएर जनताले राज्यको अनुभूति प्रत्यक्ष रूपमा गर्न सक्ने वातावरण बनाउनुपर्छ । भ्रष्टाचार, परिवारवाद र पक्षपात नियन्त्रण गर्दै राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी बन्नु पर्दछ ।’
विश्लेषकहरूका अनुसार नेपालमा गणतन्त्र संस्थागत गर्ने मुख्य चुनौती राजनीतिक अस्थिरता, कमजोर प्रशासनिक संरचना, भ्रष्टाचार र आर्थिक अवसरको अभाव हो । संविधान जारी भए पनि संघीयताको प्रभावकारी कार्यान्वयन, कानुनी शासनको सुदृढीकरण तथा राज्यका निकायहरूमा पारदर्शिता अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन ।
गणतन्त्रलाई सुदृढ बनाउन राज्यले सुशासनको प्रत्याभूति दिनुपर्ने अधिवक्ता प्रतिमा चौरसियाले बताएकी छन् । ‘जनताले छिटो, सहज र पारदर्शी सेवा पाए मात्र लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्नेछ । भ्रष्टाचार, ढिलासुस्ती र दलीय भागबण्डा गणतन्त्रका मुख्य चुनौतीको रुपमा देखिएका छन् ।’ सरकारी नियुक्ति र निर्णय प्रक्रियालाई निष्पक्ष बनाउनुपर्ने धारणा उनी राख्छिन् ।
उनका अनुसार बेरोजगारी र युवापलायन रोक्न कृषि, उद्योग, पर्यटन र सूचना प्रविधिको विकासमार्फत स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ । साथै संविधानले व्यवस्था गरेका समावेशी अधिकार र समान अवसर व्यवहारमा लागू भए मात्र गणतन्त्रको मर्म स्थापित हुने उनको निष्कर्ष छ ।
विश्लेषकहरूको निष्कर्षमा गणतन्त्रको दीर्घकालीन सफलता राजनीतिक घोषणाले मात्र सम्भव छैन । जब राज्य जनउत्तरदायी, पारदर्शी, न्यायपूर्ण र विकासमुखी बन्छ तथा नागरिक सचेत र सक्रिय रहन्छन्, तबमात्र गणतन्त्र वास्तविक अर्थमा जनमुखी र दिगो बन्न सक्छ ।
नेपाल पत्रकार महासंघ कन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले भने शासन प्रणालीभन्दा राज्यको चरित्र महत्वपूर्ण हुने बताएका छन् । चीन, जापान, नर्वे, भारत र स्वीजरल्याण्डजस्ता देशको उदाहरण दिँदै उनले कुनै पनि व्यवस्था सफल हुन राज्य जनताप्रति कति उत्तरदायी छ भन्ने विषय निर्णायक हुने बताएका छन् ।
‘नेपालमा गणतन्त्रलाई सबै समस्याको समाधानका रूपमा प्रस्तुत गरिए पनि राज्य सञ्चालनको चरित्रमा अपेक्षित परिवर्तन आउन सकेको छैन । यदि जनताको जीवनस्तरमा सुधार आउन सकेन भने गणतन्त्रप्रति जनविश्वास कमजोर हुन सक्छ,’ उनले भने । सुशासन, सामाजिक न्याय, पारदर्शिता र स्रोतसाधनको न्यायपूर्ण वितरणलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।
गणतन्त्रले नेपाली समाजमा संरचनागत परिवर्तन भने ल्याएको छ । राज्य सञ्चालनमा समावेशी सहभागिता बढेको, स्थानीय सरकार सशक्त बनेको तथा नागरिक अधिकार संवैधानिक रूपमा सुनिश्चित भएको अवस्था छ । अबको चुनौती भनेको ती उपलब्धिलाई व्यवहारमा उतार्दै जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गराउनु हो ।
जनमत पार्टीकी केन्द्रीय सदस्य रम्भा मिश्राले नयाँ संविधान, संघीय शासन प्रणाली, समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षतालाई महत्वपूर्ण उपलब्धि मानेकी छन् । उनका अनुसार स्थानीय सरकार अधिकार सम्पन्न बनेपछि गाउँस्तरमै विकास र सेवा प्रवाहमा सुधार आएको छ । महिला, दलित, मधेसी, जनजाति र सीमान्तकृत समुदायको राज्य संरचनामा सहभागिता बढ्नु पनि गणतन्त्रको सकारात्मक पक्ष भएको उनको भनाइ छ ।
‘तर राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र सुशासनको अभाव अझै चुनौतीका रूपमा रहेका छन् । गणतन्त्रलाई सफल बनाउन आर्थिक विकास, राजनीतिक स्थिरता र जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनु पर्दछ,’ उनको जोड छ ।
सामाजिक अभियन्ता शरण गुप्ताले गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘दलगत स्वार्थभन्दा माथि उठेर राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय सहमतिको संस्कृति विकास गर्नु पर्दछ । सुशासन, डिजिटल सेवा प्रवाह र स्थानीय तहलाई स्रोत तथा अधिकार सम्पन्न बनाउनु पर्दछ,’ उनले भने ।