शिक्षा मानवीय चेतनाको संवाहक र राष्ट्र विकासको मेरुदण्ड हो । राज्यले हरेक नागरिकलाई सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने संवैधानिक ग्यारेन्टी गरेको छ । तर वर्तमान नेपाली शिक्षा क्षेत्रको धरातल हेर्ने हो भने ‘सुलभ शिक्षा’ केवल नारामा मात्र सीमित भएको देखिन्छ । विशेषगरी निजी तथा केही आंगिक क्याम्पस र विद्यालयहरूले विभिन्न बहानामा विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने काम गरिरहेका छन् । शिक्षा प्रदान गर्ने नाममा खोलिएका शैक्षिक संस्थाहरू आज सेवामुखी संस्थाभन्दा बढी व्यापारिक केन्द्र र फेसन प्रदर्शन गर्ने थलोमा रूपान्तरण हुँदै गइरहेका छन् ।
पछिल्लो समय क्याम्पसहरूमा एउटा नयाँ र भड्किलो रोग सल्किएको छ – ‘नयाँ विद्यार्थीको स्वागत र पुरानाको बिदाई । विगतमा यो कार्यक्रम क्याम्पसको सानो हल वा चौरमा, नयाँ र पुराना विद्यार्थीबिच परिचय बढाउने, संस्कारी सम्बन्ध स्थापना गर्ने र आफ्ना प्रतिभा प्रस्फुटन गर्ने एउटा सामान्य र आत्मीय उत्सवको रूपमा आयोजना गरिन्थ्यो । तर, अहिले सामान्य संस्कार बदलिएर एउटा खर्चिलो, तडकभडकपूर्ण र विकृत ‘फेसन’ बनिसकेको छ । विद्यार्थी र अभिभावकसँग जबरजस्ती मोटो रकम असुल गरी क्याम्पस संचालकहरूले आफ्नै स्वार्थअनुकूल यसको प्रयोग गरिरहेका छन्, जसले वर्तमान शिक्षा प्रणालीको चरम व्यापारीकरणलाई नाङ्गो रूपमा उजागर गर्छ ।
क्याम्पसहरूले शैक्षिक सत्रको सुरुमै वा कार्यक्रमको नाममा विद्यार्थीहरूबाट ‘समारोह शुल्क’का नाममा हजारौँ रुपैयाँ असुल गर्छन् । विडम्बनाको कुरा के छ भने, त्यो पैसा विद्यार्थीहरूको प्राज्ञिक विकास, शैक्षिक सामग्री, आधुनिक प्रयोगशाला वा पुस्तकालयको सुदृढीकरणमा खर्च हुँदैन । त्यो पैसा खर्च हुन्छ–क्याम्पसको बजार प्रवद्र्धन र राजनीतिक एवम् प्रशासनिक पहुँच बनाउन ।
कार्यक्रममा विद्यार्थीका सिर्जना र प्रतिभालाई भन्दा बढी स्थान नेता, सरकारी उच्चपदस्थ कर्मचारी, सेलिब्रेटी वा समाजका गन्यमान्य भनिने व्यक्तिहरूलाई दिइन्छ । मञ्चमा उनीहरूलाई लामो समय आसनग्रहण गराइन्छ, महँगा खादा, माला र मायाको चिनो प्रदान गरिन्छ । यसको भित्री उद्देश्य विद्यार्थीलाई खुशी पार्नु होइन, बरू क्याम्पसले राज्यका विभिन्न निकाय र शक्ति केन्द्रहरूलाई रिझाउनु हो । सरकारी निकायका अधिकारीहरूलाई आफ्नो प्रभावमा पारेर भविष्यमा आउने कानुनी अड्चन पन्छाउने र आफ्नो ‘सम्बन्ध’ बलियो बनाउने हतियारको रूपमा विद्यार्थीको पैसा प्रयोग भइरहेको छ । यो विद्यार्थीमाथिको सिधै आर्थिक शोषण र ठगी हो ।
क्याम्पसहरूले नयाँ भर्नाको समयमा पत्रिका, सामाजिक सञ्जाल र होर्डिङ बोर्डहरूमा ठूला–ठूला विज्ञापन छाप्छन् । त्यहाँ आकर्षक र भव्य भौतिक पूर्वाधार, हरियाली चौर, सुविधासम्पन्न सेमिनार हल र अत्याधुनिक अडिटोरियमका तस्बिरहरू देखाइन्छ । विद्यार्थी र अभिभावक पनि त्यही भौतिक सम्पन्नता देखेर मख्ख पर्दै लाखौँ रुपैयाँ बुझाएर भर्ना हुन्छन् । तर, जब क्याम्पसको कुनै उत्सव, स्वागत वा बिदाई कार्यक्रम आउँछ, तब ती क्याम्पसका हल र चौरहरू अनुपयुक्त बन्न पुग्छन् । कार्यक्रमको आयोजना क्याम्पस परिसरमा होइन, सहरका होटल वा महँगा ब्याङ्क्वेटमा गरिन्छ । प्रश्न उठ्छ, यदि कार्यक्रम होटलमै गर्ने हो भने भर्ना गर्दा देखाइएका ती ठूला चौर र सेमिनार हलहरू के केवल विज्ञापनका लागि मात्र हुन ? यस्ता भड्किला कार्यक्रमहरूले शैक्षिक वातावरणलाई भन्दा बढी सांस्कृतिक विकृति र आर्थिक विभेदलाई प्रश्रय दिइरहेका छन् । होटलमा आयोजना हुने कार्यक्रमहरूमा पहिरनको तडकभडक, महँगा फेसन र खानाको फजुल खर्च अत्यधिक हुन्छ । एकातिर देशको आर्थिक अवस्था कमजोर छ, बेरोजगारी बढेको छ, र धेरै विद्यार्थीहरू बिहान बेलुकाको छाक टार्न वा कोठाभाडा तिर्न संघर्ष गरिरहेका छन् । अर्कोतिर, तिनै विद्यार्थीहरू पढ्ने क्याम्पसले भने होटलमा लाखौँ रुपैयाँ भोजभतेरमा उडाइरहेको हुन्छ ।
शिक्षामा सहजता र सुलभता केवल कानूनका किताब वा चुनावी घोषणापत्रमा मात्र राम्रो देखिएर हुँदैन, यसको अनुभूति आम नागरिक र विद्यार्थीले व्यवहारमा गर्न पाउनुपर्छ । विज्ञापनमा ठूला चौर देखाएर होटलमा भोजभतेर गर्ने र विद्यार्थीको पैसामा आफ्नो राजनीतिक वा व्यावसायिक स्वार्थ सिद्ध गर्ने क्याम्पसहरूको यो प्रवृत्तिको अब अन्त्य हुनैपर्छ । क्याम्पसहरू व्यापारिक संस्था होइनन् र विद्यार्थीहरू ग्राहक होइनन् । त्यसैले, शिक्षालाई फेसन र शक्तिको आडम्बर देखाउने थलो बन्नबाट जोगाउन अब सम्बन्धित निकाय ब्युँझनै पर्छ । जबसम्म शैक्षिक संस्थाहरूमा वित्तीय पारदर्शिता र नैतिक जवाफदेहिता कायम हुँदैन, तबसम्म सुलभ शिक्षाको सपना आकाशको फल मात्रै भइरहनेछ ।