डा. सोनी झा (ठाकुर) वरिष्ठ कन्सलटेन्ट डेन्टल सर्जन हुन् । डा. झाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट व्याचलर्र इन डेन्टल सर्जन गरेकी छन् । विगत २० वर्षदेखि नारायणी अस्पतालमा कार्यरत उनी दन्त विभागको प्रमुखको रुपमा कार्यरत छिन् । ग्लोबल डेन्टल क्लिनिक विर्तामा समेत १५ वर्षदेखि सेवा दिँदैआएकी वरिष्ठ कन्सलटेन्ट डेन्टल सर्जन झासँग मध्य नेपालले गरेको कुराकानी ः
मुखलाई कसरी स्वस्थ राख्न सकिन्छ ?
मुखको सरसफाई गर्ने, ब्रस र मञ्जनको प्रयोगले दाँत माझ्ने गर्नु पर्दछ । दाँत जथाभावी नमाझेर दाँत माझ्ने तरिका अपनाउनु पर्छ । दाँत फटाफट धोएजस्तो गर्नु हुँदैन । दिनको दुई पटक दाँत सफा गर्नु पर्छ । दाँतमा खाना अड्किएको छ भने इन्टरडेन्टल ब्रस र डेन्टल फ्लसले निकाल्ने गर्नु पर्दछ । खाना अड्किएको छ भने सिन्काको प्रयोग गर्नु हुँदैन ।
दाँतमा किरा लाग्ने र गिजामा इन्फेक्सन हुने कारण के हो ?
दाँतमा किरा लाग्ने कारण वंशाणुगत कारणले पनि हुन्छ । हामीले खाएको खानपान र सरसफाईको कमीले गर्दा पनि किरा लाग्छ । गुलिया खानेकुरा र दाँतमा टाँसिने खानेकुराले दाँतमा किरा लाग्न सक्छ । सरसफाई राम्रोसँग नगर्दा, ब्रस राम्रोसँग नगर्दा, खानेकुराले ट्रमा हुदाँ पनि गिजामा इन्फेक्स हुन सक्छ । दाँत किराले खाएर, गिजामा फोहर जमेर पनि इन्फेक्सन हुन सक्छ ।
क्लिनिकबाट कस्ता सेवाहरू दिइरहनु भएको छ ?
निजी क्लिनिकमा दाँतसम्बन्धी सबै खालको उपचार हुन्छ । दाँत भर्ने, दाँत सफा गर्ने, आरसिटी गर्ने, इन्प्लान्ट हाल्ने, फिक्स दाँत हाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने सबै खालको सेवा दिइरहेका छौं ।
दाँतको उपचार कतिको महँगो छ ?
समाजमा दाँतको उपचार महँगो हुन्छ भन्ने सोच छ । दाँतका बिरामीहरू दन्त चिकित्सककोमा पुग्दा धेरै ढिलो भइसकेको हुन्छ । दाँतमा हल्का कालो दाग, सेतो दागजस्तो देखियो भने त्यही समयमा नै दाँतको उपचार गरायो भने खर्च बढी लाग्दैन । दाँत दुख्न थालेपछि आरसिटी गर्ने अवस्थामा पुगेपछि त्यतिखेर अलि धेरै खर्च लाग्छ । दाँतको उपचार धेरै महँगो छैन । समयमा सचेत भएर जाँच गर्न गएमा कम खर्चमै उपचार हुन्छ ।
नेपाल सरकारको बिमाले दाँतसम्बन्धी कुनकुन सेवा समेटेको छ ?
नेपाल सरकारको स्वास्थ्य बिमाले दाँतका सबै खालका समस्याहरूलाई बिमा भित्र समेटेको छैन । किराले खाएका दाँतहरू उखाल्नका लागिमात्र बिमामा राखिएको छ । नेपाल सरकारले दाँतसम्बन्धी इमरजेन्सी उपचारलाई बिमाहरूमा समेट्नु पर्छ । मुखमा क्यान्सर भएको उपचार, दाँत भाँचिएर अस्पताल आएमा त्यसको उपचार निःशुल्क उपचार गर्ने सेवा सुविधा दिनुपर्छ । सामान्य चोटपटक लागेको बिरामीहरूलाई बिमाको सुविधा दिइरहेको छ । मुखको क्यान्सर उपचारको लागि केही रकम दिएपछि त्यसले मात्र उपचार गर्न असम्भव भएकोले सेवा सुविधा बढाए राम्रो हुने थियो ।
दाँतलाई कसरी हेरचाह गर्न सकिन्छ ?
दाँतलाई किराले खाने समस्याबाट बचाउन दाँत केले माझिरहेको छ, कसरी माझिरहेको छ त्यो नै महत्वपूर्ण कुरा हुन्छ । दाँत दतिवनले माझिरहेको छ भने दाँतको सबै सर्फेस सफा गर्दैन । दतिवनमा मञ्जनको प्रयोग गर्दैनन् । मञ्जनको प्रयोग गरेन भने दाँत किराले खान रोकिँदैन । दाँत बिहान नास्ता खाएपछि र बेलुका सुत्ने बेलामा सफा गर्नुपर्छ । चिसो पेय पदार्थ खानु हँुदैन । चिसो पेय पदार्थमा एसिड हुने भएकोले दाँतमा किरा लाग्छ । दाँतको सरसफाईमा ध्यान दिने, फलफूल, सागसब्जीहरू धेरै खाने, टासिने खानेकुराहरू कम खाने, जंकफूडहरू कम खाने र गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।
बच्चाको दाँत बाङ्गोटिङ्गो भएर आउने कारण के हो ?
बच्चाको दाँत बाङ्गोटिङ्गो आउने कारणहरू धेरै छन् । पहिलाका बच्चाहरू जंकफूड, प्याकेटको खानेकुरा कम र घरमा पाकेका खानेकुराहरू बढी खान्थे । अहिले घरमा पाकेका खाना कम र बढी मात्रामा जंकफूड, प्याकेटका खानेकुराहरू मम, चाउमिनहरू खाने गर्दछन् । जंकफूड र गुलिया खानेकुरा बढी खाँदा बच्चाको सानै उमेरमा दाँत किराले खाने गर्दछ । दाँत किराले खाएपछि समयभन्दा पहिला दाँत उखल्दा दाँत बाङ्गोटिङ्गो आउँछ । पहिला बच्चाहरूलाई बोतलको दूध कम मात्रामा खुवाउथ्यौं । अहिले सबैभन्दा बढी बोतलको दूध खुवाइरहेका छौं । आमाको भन्दा बोतलको दूध बढी खुवाउँदा बच्चाको दाँत किराले खान्छ । बच्चाको दूधे दाँत झरेपछि वंशाणुगत कारणले बच्चाको दाँत आउने जबरा सानो हुन्छ । दाँतले निस्कने ठाउँ नभएर दाँत बाङ्गोटिङ्गो हुन्छ ।
बच्चाको बाङ्गोटिङ्गो दाँतलाई कुन उमेरदेखि मिलाउन सकिन्छ ?
बच्चाको दाँत ६ वर्षको उमेरमा अगाडिको दूधे दाँत झरेर अर्को दाँत आइरहेको छ भने त्यो समयमा जाँच गर्न आउँदा बच्चाको दाँत बाङ्गोटिङ्गो आउन लागेको पत्ता लगाउन सकिन्छ । ६÷६ महिनामा दाँतको जाँच गराउनु पर्छ । जसले गर्दा दाँत बाङ्गोटिङ्गो आउनबाट रोक्न सकिन्छ । कुनै बच्चाको जन्मिनेबित्तिकै दाँत आएको हुन्छ भने पनि चिकित्सकसँग सल्लाह लिनु पर्छ । दूध खाने बच्चालाई कपास भिजाएर पूरै मुख सफा गरिदिनु पर्छ । दाँत आउन थालेपछि चिकित्सकलाई देखाउनु पर्छ । दाँत आएपछि कुनै कालोसेतो देखिएमा जाँच गर्नुपर्छ । बच्चाको उमेर ११ वर्ष भएपछि बाङ्गोटिङ्गो दाँत मिलाउन सकिन्छ ।
दाँतको उपचार कस्ता ठाउँमा गर्न उपयुक्त हुन्छ ?
दाँत सम्वेदनशील अंग हो । सस्तो भनेर जता पायो त्यहीँ उपचार गराउनु हुँदैन । योग्य चिकित्सकको पहिचान गरेरमात्र उपचार गर्नु पर्छ । दाँतको उपचारमा लाग्ने समानहरू महँगो हुने भएकोले दाँतको उपचार महँगो लागेको हो ।
आम नागरिकलाई के सुझाव दिनुहुन्छ ?
शरीरको अन्य अंगजस्तो दाँतलाई वास्ता नगर्ने, दाँत दुखेर सहन नसक्ने भएपछि मात्र जँचाउन जाने समाजमा चलन छ । दाँत दुख्नुअगावै कालोसेतो दाँत देखिएमा, दाँत हल्का सिरिङसिरिङ भएमा चिकित्सककहाँ जाने, मुख तथा दाँतको सरसफाई गर्नु पर्छ । कतिपयले पान गुट्खा खाइरहेका हुन्छन् । यसले मुखको स्वास्थ्यलाई बिगार्छ । दाँतलाई बिगार्ने तर्फभन्दा मुखलाई स्वस्थ बनाउनेतर्फ ध्यान दिनुपर्छ ।