राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशभर पर्सा जिल्लामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ भने बाँकी सात जिल्लामा अधिवेशन प्रक्रिया विवाद, असन्तुष्टि र झडपका कारण अनिश्चित बनेको छ। पार्टीभित्रको आन्तरिक व्यवस्थापन र संगठनात्मक समन्वयमाथि प्रश्न उठिरहेका बेला मधेसमा रास्वपाको अवस्था थप जटिल बन्दै गएको देखिएको छ।
पर्सामा जेठ २३ गते निर्वाचन प्रक्रिया अन्तर्गत अधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन भएपछि दाबी–विरोधका क्रममा विवाद उत्पन्न भएको थियो। विवाद चर्किँदै जाँदा झडपको अवस्था सिर्जना भएपछि निर्वाचन प्रक्रिया एक दिन लम्बिएको थियो।
प्रतिनिधि चयनमा देखिएको विवाद समाधान गर्न रास्वपाका केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ जेठ २४ गते वीरगञ्ज पुगेका थिए। वीरगञ्जस्थित एक होटलमा सचिव श्रेष्ठको उपस्थितिमा पर्साका चारवटै निर्वाचन क्षेत्रका सांसद तथा निर्वाचन प्रमुख डा. नन्दन यादवसहितको छलफलपछि विवाद समाधान भएको थियो।
त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्दै सभापति पदका लागि पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील कानुबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा संस्थापक सभापति समेत रहेका सांसद हरि पन्तले सुशील कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो सम्पूर्ण प्यानललाई विजयी गराएका थिए।
तर मधेसका अन्य सात जिल्लामा भने अवस्था फरक देखिएको छ। विभिन्न स्थानमा पटक–पटक विवाद र झडप भएपछि जिल्ला अधिवेशन प्रभावित बनेको हो। यही परिस्थितिलाई मध्यनजर गर्दै रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जेठ २६ गते सूचना जारी गर्दै निर्वाचन, प्रतिनिधि छनोट, प्रचारप्रसारलगायत अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो।
अधिवेशन प्रक्रिया रोकिएपछि मधेस प्रदेशका नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि बढ्दै गएको बताइन्छ। कतिपय कार्यकर्ताले समग्र मधेसलाई नै महाधिवेशन प्रक्रियाबाट बाहिर राख्ने प्रयास भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन्।
स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार विवादको मूल कारण संगठन र नेतृत्वबीचको दूरी हो। उनीहरूको भनाइमा मधेसका केही निर्वाचित सांसदहरू निर्वाचनका बेला मात्रै पार्टीमा जोडिएकाले पुरानो संगठनसँग पर्याप्त समन्वय हुन सकेको छैन। साथै, आफू जुन राजनीतिक दलबाट आएका हुन्, सोही पृष्ठभूमिका व्यक्तिहरूलाई पार्टीको नेतृत्वमा स्थापित गर्न खोजिएको आरोप समेत लागिरहेको छ।
मधेस प्रदेशमा देखिएको यो अवस्था रास्वपाका लागि केवल संगठनात्मक चुनौती मात्र नभई पार्टीको आन्तरिक एकता र भविष्यको राजनीतिक यात्रासँग जोडिएको महत्वपूर्ण परीक्षा बन्न पुगेको छ। अब पार्टी नेतृत्वले संवाद, समन्वय र विश्वासको वातावरण निर्माण गर्न नसके मधेसमा देखिएको असन्तुष्टि थप गहिरिने विश्लेषण गरिएको छ।