अमेरिका र इरानबीच अस्थायी युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ, जसले युद्धविराम विस्तार गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ताको बाटो खोल्ने अपेक्षा गरिएको छ।
मामिलाबारे जानकारी दिएका एक कूटनीतिज्ञका अनुसार दुवै पक्षबीच समझदारीपत्र (MoU) को पाठमा सहमति भए पनि अन्तिम स्वीकृति भने बाँकी छ।
सम्झौताअनुसार हस्ताक्षरपछि ६० दिनका लागि सबै मोर्चामा युद्धविराम लागू हुनेछ, जसमा लेबनान पनि समेटिनेछ। साथै, सम्झौता लागू भएलगत्तै स्ट्रेट अफ होर्मुज पुनः खोलिनेछ र इरानले कुनै पनि पारगमन शुल्क नलिने बताइएको छ। ३० दिनभित्र समुद्री व्यापार पूर्व–युद्ध स्तरमा फर्काइने उल्लेख छ।
त्यसैगरी, अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने तथा चरणबद्ध रूपमा प्रतिबन्धमा केही राहत दिने सहमति भएको छ, यद्यपि त्यसको समयसीमा भने स्पष्ट गरिएको छैन।
आणविक मुद्दामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउने र उच्च संवर्धित युरेनियम भण्डारणसम्बन्धी विषय पनि सम्झौतामा समेटिएको बताइएको छ।
यो सम्भावित सम्झौतालाई “इस्लामाबाद सम्झौता” नाम दिइने उल्लेख छ।
तर इरानको विदेश मन्त्रालयले भने अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको र सार्वजनिक भएका विवरणहरू केवल अनुमान मात्र भएको प्रतिक्रिया दिएको छ।