जीएचपी माध्यमिक विद्यालय, वीरगञ्जले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा योगदानकर्ता शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा ४.० जीपीए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई ल्यापटप, प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको हो।
सम्मानित हुने विद्यार्थीहरूमा मेहविश हुमायूँ, प्रथम पटेल, सिद्धान्त गुप्ता, आकृति राय, बुद्धिप्रिया पाण्डेय र अलिना जैसवाल रहेका छन्। विद्यालयले उनीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै ल्यापटप प्रदान गरेको जनाएको छ।
त्यसैगरी, एसईई परीक्षामा विद्यालयको उत्कृष्ट नतिजा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयगत शिक्षक तथा शिक्षिकाहरूलाई नगद पुरस्कार, सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो।
विद्यालयकी प्रधानाध्यापक रमीन्द्र कौरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने प्रमुख अतिथि तथा मानव सेवा आश्रमका संस्थापक एवं समाजसेवी देवेश मानव विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयले उत्कृष्ट विद्यार्थीहरूको सम्मान गरेर शिक्षा क्षेत्रमा सकारात्मक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताए। उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्न तथा थप मेहनत गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
विशिष्ट अतिथि देवेश मानवले शिक्षा नै व्यक्तित्व विकास र समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै सफल विद्यार्थीहरूलाई बधाई दिएका थिए। उनले अनुशासन, परिश्रम र मानवताको भावना आत्मसात् गर्दै जीवनमा अघि बढ्न विद्यार्थीहरूलाई सुझाव दिए।
कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का डिस्ट्रिक्ट गभर्नर रामविहारी पाण्डे, समाजसेवी नुतन पोखरेल सरावगी, गुडी जोशी, विद्यालयका निर्देशक शिव गुप्ता, सामाजिक कार्यकर्ता दिलीपराज कार्की, गुरुद्वारा सत्संगका उपाध्यक्ष अजित पाल सिंह, पवनदीप कौर, यात्राडेलीका निर्देशक राम सराफ तथा क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले विद्यार्थी र शिक्षक दुवैलाई सम्मान गर्ने विद्यालयको संस्कारले शिक्षाप्रति सम्मान र जिम्मेवारीको भावना विकास गर्न मद्दत पुग्ने बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमले भावी पुस्तालाई उत्कृष्टता हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
कक्षा १० का विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रम विद्यालयका फाउन्डर जगप्रित सिंहको विशेष पहल तथा व्यवस्थापनमा आयोजना गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई भव्य, व्यवस्थित र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्।