इरानले हालै भएका अमेरिकी हवाई आक्रमणलाई आफ्नो राष्ट्रिय सार्वभौमसत्तामाथिको स्पष्ट उल्लंघन भन्दै कडा आपत्ति जनाएको छ। साथै, आफ्नो भूमिमाथि पुनः आक्रमण भए त्यसको स्रोतस्थललाई नै निशाना बनाइने चेतावनी दिएको छ।
इरानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानी सशस्त्र बलले आक्रमणको आधार बनेका अमेरिकी सैन्य अड्डा तथा सम्पत्तिमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ। वक्तव्यमा भनिएको छ, “यदि इरानमाथि फेरि आक्रमण गरियो भने त्यसको स्रोतस्थललाई निशाना बनाउन हामी हिच्किचाउने छैनौं।”
अमेरिकाले होर्मुज जलडमरूमध्य नजिक रहेका इरानी लक्ष्यहरूमा आक्रमण गरेपछि इरानले बुधबार बहराइन, कुवेत र जोर्डनमा रहेका लक्ष्यहरूमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षले भने इरानी कारबाही आफ्नो सेनाको एपाचे हेलिकोप्टर खसालिएको घटनाको प्रतिशोधस्वरूप गरिएको दाबी गरेको छ।
इरानको पछिल्लो आक्रमणबाट अमेरिकी सैन्य संरचनामा कति क्षति पुगेको छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। यद्यपि बहराइन, कुवेत र जोर्डनमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणपछि साउदी अरेबिया र टर्कीका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरेका छन्। इरानी विदेश मन्त्रालयका अनुसार क्षेत्रीय सुरक्षा अवस्था र तनाव न्यूनीकरणका सम्भावित उपायबारे छलफल भएको थियो।
मध्यपूर्वमा अमेरिका र इरानबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको विश्लेषण गरिएको छ। दुवै पक्षबीच प्रतिआक्रमणको श्रृंखला जारी रहे विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा क्षेत्रीय स्थिरतामा गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।