नेपाल आज एउटा गम्भीर आर्थिक, सामाजिक र मनोवैज्ञानिक मोडमा उभिएको छ । हामी विकासको सपना त देखिरहेका छौं, समृद्धिको नारा पनि लगाइरहेका छौं, तर विडम्बना के छ भने समृद्धिको वास्तविक आधारलाई भने आफ्नै हातले कमजोर बनाइरहेका छौं । त्यो आधार हा–उद्यमशीलता, उत्पादन र लगानी । आज हाम्रो समाजमा एउटा खतरनाक सोच विस्तारै गहिरिँदै गएको छ–‘धनी मानिस अवश्य गलत तरिकाले धनी बनेको हो, व्यवसायी भनेको शोषक हो । उद्योगी भनेको स्वार्थी वर्ग हो ।’
यो सोच केवल व्यक्तिगत पूर्वाग्रहमात्र होइन; यो राष्ट्रको आर्थिक भविष्यसँग जोडिएको गम्भीर समस्या हो । कुनै पनि देश केवल भाषण, नाराबाजी र राजनीतिक बहसले धनी बन्दैन । देशलाई धनी बनाउने शक्ति भनेको उत्पादन हो । उद्योग हो । व्यापार हो । नवप्रवर्तन हो । रोजगारी सिर्जना गर्ने साहस हो । जोखिम उठाएर केही नयाँ निर्माण गर्ने मानसिकता हो ।
जुन समाजले उत्पादन गर्ने मानिसलाई सम्मान गर्छ, त्यो समाज समृद्ध बन्छ । जुन समाजले उत्पादनशील वर्गलाई सधैं शंकाको आँखाले हेर्छ, त्यो समाज क्रमशः कमजोर बन्दै जान्छ । प्रकृतिले पनि यही शिक्षा दिन्छ । एउटा बीउलाई मलजल, संरक्षण र अनुकूल वातावरण दिइयो भने त्यो विशाल वृक्ष बन्छ । तर, यदि बीउ उम्रिन नपाउँदै त्यसलाई कुल्चियो भने त्यहाँ हरियाली कहिल्यै आउँदैन । उद्योग र उद्यमशीलता पनि त्यस्तै बीउ हुन् । यदि राष्ट्रले तिनलाई संरक्षण ग¥यो भने उत्पादन बढ्छ, रोजगारी बढ्छ, राजस्व बढ्छ र देश समृद्ध हुन्छ । तर, यदि उद्यमीलाई निरन्तर अपमान, असुरक्षा र अविश्वास मात्र दिइयो भने पूँजी डराउन थाल्छ । लगानी पलायन हुन्छ । अनि अर्थतन्त्रको मेरुदण्ड नै कमजोर बन्छ ।
आज नेपालमा एउटा विचित्र अवस्था देखिन्छ । विदेश जाने युवालाई ‘सफल’ मानिन्छ, तर आफ्नै देशमा उद्योग खोल्न खोज्ने युवालाई शंका गरिन्छ । जसले जोखिम उठाएर कारखाना खोल्न खोज्छ, उसलाई विभिन्न निकायले दुःख दिन्छन् । जसले रोजगारी सिर्जना गर्छ, उसलाई सम्मानभन्दा बढी आरोप प्राप्त हुन्छ । तर, दलाली, सस्तो लोकप्रियता र निष्क्रिय उपभोग भने सामान्यजस्तै स्वीकार भइरहेको छ । यो अवस्था कुनै स्वस्थ अर्थतन्त्रको संकेत होइन । यो भविष्यप्रतिको चेतावनी हो ।
कुनै राष्ट्र तब संकटतर्फ जान थाल्छ, जब उत्पादन गर्नेभन्दा उपभोग गर्ने संख्या बढ्न थाल्छ । जब सिर्जना गर्ने मानिस निरुत्साहित हुन्छन् र केवल आलोचना गर्ने मानिसहरू प्रभावशाली बन्छन्, तब समाजको ऊर्जा सकारात्मक दिशाबाट हटेर नकारात्मक दिशातर्फ मोडिन्छ । संसारका विकसित राष्ट्रहरूले आफ्नो इतिहासमा एउटा कुरा स्पष्ट रूपमा बुझे–राष्ट्र निर्माण केवल सरकारको जिम्मेवारी होइन । निजीक्षेत्र पनि राष्ट्र निर्माणको साझेदार हो । अमेरिका, जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी वा चीन, यी सबै देशहरूको विकासमा उद्योग, उत्पादन र उद्यमशीलताको ठूलो भूमिका छ । त्यहाँ सफल व्यवसायीलाई केवल धन कमाउने व्यक्ति भनेर हेरिँदैन, उसलाई रोजगारी सिर्जना गर्ने, कर तिर्ने, प्रविधि ल्याउने र राष्ट्रको अर्थतन्त्रलाई गति दिने व्यक्ति भनेर हेरिन्छ । त्यसैले ती देशहरूले उद्यमशीलतालाई सम्मान गरे । नीति स्थिर बनाए । लगानी सुरक्षित बनाए । उद्योगमैत्री वातावरण तयार गरे । र, परिणामस्वरूप ती देशहरू आर्थिक रूपमा शक्तिशाली बने ।
तर, नेपालमा भने स्थिति उल्टो देखिन्छ । यहाँ नीति अस्थिर छ । लगानीकर्तामा भविष्यप्रतिको भरोसा कमजोर छ । कानूनी प्रक्रिया जटिल छ । राजनीतिक हस्तक्षेप धेरै छ । र, समाजको ठूलो हिस्साले व्यवसायलाई नै शंकाको दृष्टिले हेर्छ । यस्तो वातावरणमा इमानदार उद्यमी पनि डराउँछ । किनकि उसले महसुस गर्छ–‘मैले जति मेहनत गरे पनि समाजले मलाई सम्मानभन्दा बढी आरोप नै लगाउनेछ ।’
जब समाजमा अविश्वासको वातावरण बढ्छ, तब सिर्जनशीलता मर्न थाल्छ । सिर्जनशीलता मरेपछि उत्पादन घट्छ । उत्पादन घटेपछि रोजगारी घट्छ । रोजगारी घटेपछि युवाहरू विदेशिन बाध्य हुन्छन् । त्यसपछि देश आयातमुखी बन्छ । अन्ततः राष्ट्र आर्थिक रूपमा परनिर्भर बन्दै जान्छ । नेपाल आज यही चक्रमा फसिरहेको छ । हामी उपभोग धेरै गरिरहेका छौं, उत्पादन कम । हामी आयात धेरै गरिरहेका छौं, निर्यात कम । हामी अवसर खोजेर विदेश पठाइरहेका छौं, तर अवसर सिर्जना गर्ने वातावरण बनाउन असफल भइरहेका छौं ।
यदि कुनै उद्योगले हजारौं युवालाई रोजगारी दिन्छ भने त्यो केवल निजी नाफाको केन्द्र होइन, त्यो धेरै परिवारको जीवनसँग जोडिएको संस्था हो । यदि कुनै उद्योगले किसानको उत्पादनलाई बजार दिन्छ भने त्यो केवल व्यापार होइन; त्यो कृषि प्रणालीको सहारा हो । यदि कुनै उद्यमीले नयाँ प्रविधि ल्याउँछ भने त्यो केवल व्यक्तिगत प्रगति होइन; त्यो देशको प्रतिस्पर्धात्मक क्षमताको विस्तार हो । त्यसैले सम्पूर्ण उद्यमशील वर्गलाई एउटै आँखाले हेर्नु न्यायपूर्ण सोच होइन । हो, केही गलत व्यवसायी हुन सक्छन् । भ्रष्टाचार, कर छली, कालोबजारी वा शोषण गर्नेहरूलाई कानूनले कडाइका साथ कारवाही गर्नुपर्छ । तर, केही व्यक्तिको गलत कामका आधारमा सम्पूर्ण उद्योगी वर्गलाई नै दोषी ठहर गर्नु भनेको उत्पादनशील शक्तिमाथि सामूहिक आक्रमण गर्नु हो । समाजले एउटा कुरा बुझ्न आवश्यक छ–धन सिर्जना गर्नु आफैंमा अपराध होइन । अनैतिक तरिकाले धन कमाउनु अपराध हो । तर, इमानदार मिहिनेत, जोखिम र नवप्रवर्तनमार्फत सफलता हासिल गर्नु सम्मानयोग्य कुरा हो । उद्यमशीलता सजिलो यात्रा होइन । उद्योग खोल्ने मानिसले ठूलो जोखिम उठाउँछ । उसले आफ्नो पूँजी लगाउँछ । असफलताको डर बोकेको हुन्छ । बजारको अनिश्चिततासँग लडिरहेको हुन्छ । राजनीतिक अस्थिरता, प्रशासनिक झन्झट, श्रम समस्या र आर्थिक दबाबबीच टिक्न संघर्ष गरिरहेको हुन्छ । तर, समाजले प्रायः त्यो संघर्ष देख्दैन । समाजले केवल सफलता देख्छ । र सफलता देखेपछि तुरुन्त शंका गर्न थाल्छ ।
यो मानसिकता परिवर्तन गर्न अत्यन्त आवश्यक छ । किनकि जहाँ सम्मान हुँदैन, त्यहाँ दीर्घकालीन लगानी टिक्दैन । जहाँ सुरक्षा हुँदैन, त्यहाँ पूँजी बस्न चाहँदैन । जहाँ निरन्तर अपमान हुन्छ, त्यहाँ प्रतिभा पलायन हुन्छ । आज नेपालका धेरै सक्षम युवा विदेशमा अवसर खोजिरहेका छन् । किन ? किनकि उनीहरूलाई लाग्छ– ‘यहाँ मिहिनेतको मूल्य छैन ।’ यदि यही अवस्था जारी रह्यो भने भविष्यमा नेपाल उपभोक्ताको बजार त बन्न सक्छ, तर उत्पादनशील राष्ट्र बन्न सक्दैन ।
हामीले एउटा सन्तुलित सोच विकास गर्नुपर्छ । न व्यवसायीलाई देवता बनाउने, न सबैलाई अपराधी ठहर गर्ने । इमानदार उद्यमशीलतालाई प्रोत्साहन गर्ने र गलत काम गर्नेलाई कानुनअनुसार कारवाही गरिनु पर्दछ । यही स्वस्थ आर्थिक सोच हो । सरकारको पनि ठूलो जिम्मेवारी छ । उद्योगमैत्री नीति बनाउनुपर्छ । लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ । प्रशासनिक झन्झट कम गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन दिनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण–नीतिगत स्थिरता कायम गर्नुपर्छ । किनकि, लगानी त्यहीँ जान्छ जहाँ भविष्य सुरक्षित देखिन्छ । यदि हरेक वर्ष नियम बदलिने हो भने कसैले दीर्घकालीन उद्योगमा लगानी गर्न चाहँदैन ।
मिडियाको पनि उत्तिकै भूमिका छ । गलत कामको आलोचना आवश्यक छ, तर सकारात्मक उदाहरणलाई पनि अगाडि ल्याउनुपर्छ । देशभित्र उत्पादन गरिरहेका, रोजगारी सिर्जना गरिरहेका, नवप्रवर्तन गरिरहेका उद्यमीहरूको कथा समाजसम्म पुग्नुपर्छ । किनकि, प्रेरणाबिना उद्यमशील संस्कृति निर्माण हुँदैन । शिक्षा प्रणालीले पनि केवल जागिर खोज्ने मानसिकता होइन, अवसर सिर्जना गर्ने मानसिकता विकास गर्नुपर्छ । यदि हरेक युवा केवल सरकारी जागिरको पछाडि दौडिन्छ भने देशको अर्थतन्त्र सीमित हुन्छ । तर, यदि युवाले उद्यम गर्न सिके भने अर्थतन्त्र गतिशील बन्छ । नेपाललाई वास्तवमै समृद्ध राष्ट्र बनाउने हो भने उत्पादनलाई सम्मान गर्नैपर्छ । उद्योगलाई राष्ट्रको शत्रु होइन, साझेदार मान्नुपर्छ । व्यवसायलाई केवल नाफाको माध्यम होइन, आर्थिक विकासको इन्जिनका रूपमा बुझ्नुपर्छ । हामीले सम्झनुपर्छ– राष्ट्र केवल सडक र भवनले बन्दैन । राष्ट्र त्यहाँ बन्न थाल्छ, जहाँ मानिसले सिर्जना गर्न पाउँछ । जहाँ मेहनतको सम्मान हुन्छ । जहाँ जोखिम उठाउनेलाई संरक्षण दिइन्छ । जहाँ उद्यमशीलतालाई अपराध होइन, सम्भावनाको रूपमा हेरिन्छ ।
यदि हामीले उत्पादनशील वर्गलाई निरन्तर निरुत्साहित गरिरह्यौं भने भविष्यमा देशसँग न पूँजी रहनेछ, न प्रतिभा । त्यसपछि बाँकी रहनेछ–बेरोजगारी, आयात, आश्रित अर्थतन्त्र र निराशा । तर, यदि हामीले सोच बदल्यौं, उद्यमशीलतालाई सम्मान ग¥यौं, उद्योगलाई संरक्षण ग¥यौं, र उत्पादनलाई राष्ट्रिय प्राथमिकता बनायौं भने नेपाल पनि समृद्ध बन्न सक्छ ।
किनकि, इतिहासले प्रमाणित गरिसकेको छ– जहाँ उद्यम बाँच्छ, त्यहाँ अर्थतन्त्र बाँच्छ । जहाँ अर्थतन्त्र बलियो हुन्छ, त्यहाँ राष्ट्रको भविष्य उज्यालो हुन्छ । तर, जहाँ सिर्जनशीलता मर्छ, त्यहाँ सपना पनि बिस्तारै मर्न थाल्छ । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता केवल राजनीतिक परिवर्तन होइन, मानसिकताको परिवर्तन हो । हामीले उद्योगी र व्यवसायीलाई शत्रु होइन, सहयात्रीका रूपमा हेर्न सिक्नुपर्छ । किनकि, राष्ट्र निर्माण सरकार एक्लैले गर्न सक्दैन । राष्ट्र निर्माण तब सम्भव हुन्छ, जब उत्पादन गर्ने हात, नीति बनाउने शक्ति र समाजको विश्वास–तीनै एकसाथ अगाडि बढ्छन् ।
- लेखक प्रसौनी उद्योग वाणिज्य संघ, बाराका वरिष्ठ उपाध्यक्ष हुन् ।