राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन अन्तर्गत शनिबारको विवाद र झडपका कारण स्थगित भएको निर्वाचन प्रक्रिया सोमबार अबेर राति शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचनबाट बुद्धिप्रसाद पन्त (हरि पन्त) दोस्रो कार्यकालका लागि पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
सार्वजनिक गरिएको मतपरिणाम अनुसार पन्तले १६६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी सुशील साह कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कानुले ११८ मत प्राप्त गरेका थिए।
रास्वपा पर्साका निर्वाचन संयोजक डा. नन्दन यादवका अनुसार सभापतिसँगै अन्य प्रमुख पदाधिकारी पदहरूमा पनि पन्त पक्षका उम्मेदवारहरूले जित हासिल गरेका छन्। उपसभापतिमा दिलिपकुमार कुर्मी १६२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रणदिप श्रीवास्तवले ११४ मत प्राप्त गरेका छन्।
त्यस्तै, जिल्ला सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी शिवकुमार साहले ११६ मत प्राप्त गरेका थिए। सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित निर्वाचित हुँदा निरजकुमार साहले ११३ मत प्राप्त गरेका छन्।
अधिवेशनबाट पाँच जना जिल्ला कार्यसमिति सदस्यहरू समेत निर्वाचित भएका छन्। सदस्य पदमा तुलसा पौडेल अधिकारीले १६० मत, प्रियंका कुमारी कुर्मीले १५५ मत, कामोध्या चौधरीले १३३ मत, पूर्णबहादुर सापकोटाले १३१ मत तथा शशीदेवी थरुनीले १०० मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।
यसअघि शनिबार वीरगञ्जमा सम्पन्न अधिवेशनका क्रममा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएपछि कुटाकुटसमेत भएको थियो। घटनापछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। त्यसलगत्तै निर्वाचन संयोजक डा. यादवले विशेष विज्ञप्ति जारी गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेका थिए। सोहीअनुसार वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा कडा सुरक्षा व्यवस्थाबीच मतदान सम्पन्न गरिएको हो।
निर्वाचन सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन संयोजक डा. यादवले शनिबारको अप्रिय घटनालाई पछाडि छाड्दै सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न भएको बताए। उनले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।