गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा “स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” आयोजना गरिएको छ । कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका–१ की सामाजिक अभियन्ता तुलसी पौडेल अधिकारीलाई यो वर्षको स्व.अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार प्रदान गरिएको छ । नगद ११ हजार रुपैयाँ राशीको पुरस्कारले पौडेललाई सम्मानित गरिएको हो ।
विगत दुई दशकदेखि महिला अधिकार, सशक्तिकरण र बालबालिकासम्बन्धी क्षेत्रमा समर्पित हुँदै विभिन्न संस्थामार्फत समाज परिवर्तनमा सक्रिय रहेकी अभियन्ता तुलसी पौडेल अधिकारीलाई सम्मान गरिएको आयोजक संस्था गैर सरकारी महासंघले जनाएको छ । कार्यक्रममा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा अझै करिब ८ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको उल्लेख गर्दै यस विषयमा गैर सरकारी संस्थामा आबद्धहरुले गम्भीर भएर काम गर्न पर्ने सुझाव दिएका छन् । महिला सशक्तिकरणको सवालमा अझै धेरै काम गर्न बाँकी भएको प्रजिअ अर्यालको भनाइ थियो ।
पर्सा मधेश प्रदेशकै तुलनामा विकसित जिल्ला भए पनि बालबालिका र महिलाको अधिकार सुनिश्चित गर्न अझै पनि साझा प्रयास आवश्यक रहेको उनले बताए । पर्सा जिल्ला तुलनात्मक रूपमा मधेश प्रदेशका अन्य जिल्लाहरूभन्दा विकसित मानिए पनि, अझै ती बालबालिकाहरूलाई विद्यालयसम्म पु¥याउनु गैरसरकारी संस्थाहरू र सबै सरोकारवालाहरूको कर्तव्य भएको उनले औंल्याए ।

महिला सशक्तिकरणको सवालमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दैनिक २–४ वटा उजुरी आउने गरेको उल्लेख गर्दै अर्यालले कानुनी रूपमा विवाह, दर्ता, नागरिकता आदि नपु¥याउने व्यक्तिमाथि कारबाही गरिने जस्तो कडाइ अझै आवश्यक रहेको बताए । “जहिलेसम्म महिलाले न्याय पाउँदैनन्, हामी कठोर कदम चालिरहनेछौं,” उनले दोहो¥याए ।
गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, गैसस महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, मध्य नेपाल मिडिया प्रा.लि. अध्यक्ष तथा मध्य नेपाल सन्देशको सम्पादक कविता खड्का र स्व. अर्चना गुप्ताका पति शिवचरण रौनियार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गैसस उपाध्यक्ष सुरज पण्डितले स्वागत मन्तव्य राखेका थिए भने ललन तिवारीले स्व. अर्चना गुप्ताको जीवनी प्रस्तुत गरेका थिए । गैर सरकारी संस्था महासंघ पर्साका कार्य समिति सदस्य समेत रहेकी स्व. गुप्ताको ४० वर्षको उमेरमा गत वर्ष वैशाख ९ गते असामयिक निधन भएको थियो ।
