खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि आगामी साउन महिनाभित्रै टेण्डर प्रक्रिया सुरु हुने घोषणा गरेका छन्।
सोमबार खानेपानी मन्त्रालयमा आयोजित विशेष छलफल कार्यक्रममा मन्त्री यादवले एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालन गरिने १२ मध्ये कम्तीमा ६ खानेपानी आयोजनाको निर्माण कार्य पहिलो चरणमै अघि बढाइने स्पष्ट पारे।
उनले भने, “ADB को सहयोगमा सञ्चालन हुने आयोजना अघि बढाउन प्राविधिक र वित्तीय पक्षमा थप छलफल गरी टेण्डर प्रक्रिया सुरु गरिनेछ। सम्बद्ध निकायहरूबीचको समन्वय र सहकार्यलाई बलियो बनाइनेछ।”
मन्त्री यादवले वीरगञ्जको जीवनस्तर उकास्न खानेपानी तथा ढल व्यवस्थापनमा ठोस पहल आवश्यक रहेको उल्लेख गर्दै, संघ, स्थानीय तह र सरोकारवाला निकायको संयुक्त प्रयासले मात्र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।
उच्चस्तरीय सहभागिता
कार्यक्रममा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल सहित उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा सहभागी सरोकारवालाहरूले टेण्डर प्रक्रिया साउनभित्रै सुरु गर्ने सहमति व्यक्त गर्दै, कार्यान्वयनमा ढिलाइ हुन नदिने प्रतिबद्धता जनाएका छन्।
यस कदमले वीरगञ्जमा दीर्घकालीन रूपमा सुरक्षित र नियमित खानेपानी सेवा पुर्याउने दिशामा ठोस प्रगति हुने अपेक्षा गरिएको छ।