नेपालको वैदेशिक व्यापारमा वीरगञ्ज भन्सार नाकाको दबदबा देखिएको छ । मुलुकभरका २८ भन्सार विन्दुबाट वैदेशिक व्यापार सञ्चालन भइरहे पनि कुल आयातको झन्डै आधा हिस्सा वीरगञ्ज नाकाबाट हुने गरेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) सम्म नेपालमा ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ४८.३० प्रतिशत हो ।
वीरगञ्ज नाका नेपालका लागि पेट्रोलियम पदार्थ आयातको प्रमुख प्रवेशद्वारसमेत हो । यस नाकाबाट आयातसँगै निर्यातको हिस्सा पनि उल्लेख्य रहेको छ । विभागका अनुसार समीक्षा अवधिमा नेपालबाट कुल १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा वीरगञ्ज नाकाबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
यसैबीच, १० भदौको बाढीका कारण नेपाल–चीन व्यापार प्रभावित भई मुस्ताङ नाकामा सीमित भएको छ । मुस्ताङस्थित नाका पनि कालीगण्डकी नदीको बाढीबाट प्रभावित भएपछि नेपालको वैदेशिक व्यापार थप भारततर्फका नाकामा केन्द्रित भएको छ ।
आयातको हिसाबले वीरगञ्जपछि भैरहवा दोस्रो व्यस्त नाकाका रूपमा रहेको छ । समीक्षा अवधिमा यस नाकाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १५.२८ प्रतिशत हो ।
त्यस्तै, विराटनगर नाकाबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । कुल आयातमा यसको हिस्सा १२.११ प्रतिशत रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ५१ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ७.९८ प्रतिशत हो ।
अन्य भन्सार नाकाको आयात हिस्सा तुलनात्मक रूपमा न्यून रहेको छ । तीन महिनाको अवधिमा नेपालगञ्ज नाकाबाट २३ अर्ब ९१ करोड, मुस्ताङ नाकाबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।
यता, रसुवागढी नाकामा बाढीले क्षति पुर्याएपछि चोभारस्थित सुक्खा बन्दरगाहको व्यापारिक गतिविधिमा समेत कमी आएको छ । समीक्षा अवधिमा चोभार भन्सार विन्दुबाट जम्मा ४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।