नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले पहिलो जित हात पारेको छ। सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा जित निकाल्दै दुई अंक जोडेको छ । लगातार दुई खेल जितेको कर्णालीले भने पहिलो हार व्यहोरेको छ ।
काठमाडौंको जितमा रासिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे । रासिदले ३४ बलमा ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । त्यस्तै, करणले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे ।
रासिदले आदिल आलमसँग ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए भने करणसँग २६ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
काठमाडौंका लागि एनपीएल डेब्यु गरेका अस्ट्रेलियन खेलाडी डेभिड वार्नरले १६ रन बनाए । जहानदान खानले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै १० बलमा १ चौका र २ छक्कासहित अविजित २२ रन बनाएर टोलीलाई जित दिलाए ।
बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलतले समान २ विकेट लिए । मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । हुसेन तलतले ३० बलमा २ छक्कासहित ४० रन जोडे । पवन सर्राफ २३ बलमा ३० रन बनाउँदै अविजित रहे भने गुल्सन झाले १२ बलमा २ छक्कासहित २० रनको योगदान गरे ।
काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिए ।
यस जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो जितको खाता खोलेको छ भने कर्णालीको लगातार जितको यात्रा रोकिएको छ ।