अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रणसम्बन्धी संघीय छापामारीपछि उत्पन्न अशान्ति नियन्त्रण गर्न लस एञ्जलसमा २,००० नेशनल गार्डस्म्यान परिचालन गर्ने घोषणा गरेका छन्।
अमेरिकी सीमा सुरक्षा प्रमुख टम होम्यानले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, "हामी लस एञ्जलसलाई सुरक्षित बनाउँदैछौं।"
क्यालिफोर्नियाको लस एञ्जलसस्थित प्रधारित हिस्पानिक बस्ती प्यारामाउन्टमा शनिबार दोस्रो दिन पनि अमेरिकी अध्यागमन तथा भिसा प्रवर्तन निकाय (ICE) विरुद्ध व्यापक प्रदर्शन भयो। भीड नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले अश्रुग्यास र लाठी चार्ज गरेका थिए।
ICE का अपरेशनहरू अन्तर्गत यसै साता लस एञ्जलसमा ११८ जनालाई पक्राउ गरिएको छ, जसमा शुक्रबार मात्रै ४४ जना पक्राउ परेका थिए।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युशमले यी छापामारीलाई "निर्दयी" भन्दै कडा आलोचना गरेका छन्। शनिबार राष्ट्रपति ट्रम्प र गभर्नर न्युशमबीच करिब ४० मिनेट टेलिफोन वार्ता भएको गभर्नरका प्रवक्ताले जानकारी दिए।
प्रदर्शन भइरहेका क्षेत्रमा अझै पनि सुरक्षाकर्मी र स्थानीयबीच झडप भइरहेका छन्। प्यारामाउन्टको हृदयस्थलमा रहेको होम डिपो अगाडि अश्रुग्यास र धुवाँले वातावरण विषाक्त भएको बताइएको छ। सुरक्षाकर्मीहरूले निरन्तर 'फ्ल्यास बाङ' र अश्रुग्यास प्रयोग गरिरहेका छन्।
स्थानीय बासिन्दा र प्रदर्शनकारीहरूले आप्रवासीहरू स्थानीय व्यवसायभित्र लुकिएको र बाहिर निस्कन डराएको बताएका छन्। प्यारामाउन्टको जनसंख्या ८० प्रतिशतभन्दा बढी हिस्पानिक मूलका छन्।
ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा लस एञ्जलसमा संघीय एजेन्टहरू माथि उग्र भिडले आक्रमण गरिरहेका छन्। यस्तो हिंसाको सामना गर्दै राष्ट्रपति ट्रम्पले २,००० नेशनल गार्डस्म्यान परिचालन गर्न राष्ट्रपतीय ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।”
ट्रम्पका आप्रवासन प्रमुख होम्यान ICE अपरेशन निरीक्षण गर्न लस एञ्जलसमै पुगेका छन्। उनले भने, "हामी थप स्रोतहरू ल्याउँदैछौं। आज राति नै नेशनल गार्ड आउनेछ। हामी हाम्रो काम जारी राख्नेछौं।" उनले निजी सम्पत्तिमा क्षति र हिंसाप्रति “शून्य सहनशीलता” अपनाइने चेतावनी दिए।
एफबीआईका उपनिर्देशक ड्यान बोंगिनोले ‘X’ मा लेखेका छन्, “यदि तपाईंले अराजकता ल्याउनुहुन्छ भने, हामी हतकडी ल्याउनेछौं।” उनले प्रदर्शनमा अवरोध पुर्याउने धेरैलाई पक्राउ गरिएको जनाए।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि 'X' मा लेख्दै राष्ट्रिय सुरक्षा र शान्तिका लागि "नेशनल गार्ड तत्काल परिचालित गरिँदैछ" भनेका छन्। यदि हिंसा जारी रहेमा क्याम्प पेंडलटनका सक्रिय मरीन फौजसमेत परिचालन गरिने चेतावनी दिएका छन्।
यद्यपि शनिबार राति लस एञ्जलस प्रहरी विभाग (LAPD) ले प्रदर्शनहरू शान्तिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता प्रयोगप्रति सम्मान प्रकट गर्दै कुनै अप्रिय घटना नघटेको जनाएका छन्।
तर गभर्नर न्युशमले भने संघीय सरकारको यो हस्तक्षेप "उक्साहटपूर्ण" भएको र यसले "स्थिति झन् जटिल बनाउने" प्रतिक्रिया दिएका छन्। उनले भने, “LA सहरका अधिकारीहरूले आवश्यक परे तुरुन्तै सुरक्षाको व्यवस्था गर्न सक्छन्।”
यसैबीच, राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, “यदि गभर्नर न्युशम र मेयर करेन बासले आफ्नो काम गर्न सक्दैनन् भने संघीय सरकार हस्तक्षेप गर्नेछ र दंगा तथा लुटपाट नियन्त्रण गर्नेछ।”
लस एञ्जलसकी मेयर करेन बासले ICE लाई “आतंक फैलाउने संस्था” को संज्ञा दिएकी छन्। फेडरल ब्यूरो तथा होमल्याण्ड सेक्युरिटी अधिकारीहरूले उनको टिप्पणी संघीय एजेन्टहरूको सुरक्षामा खतरा उत्पन्न गर्ने चेतावनी दिएका छन्।
मानव अधिकार अभियन्ता एन्जेलिका सालासले भनेकी छन्, “हाम्रो समुदायमाथि हमला भइरहेको छ। यी मानिसहरू कामदार, बाबु–आमा हुन्। यो अवस्था अब सह्य छैन।”
राष्ट्रपति ट्रम्पले विद्रोह नियन्त्रण लगायतका कारण देखाएर संघीय रूपमा नेशनल गार्ड परिचालन गर्ने अधिकार राख्छन्, तर राज्यका नेताहरूले यसमा असहमति जनाएका छन्। अब यो कदमले संघीय र राज्य सरकारबीचको सम्बन्ध थप तनावपूर्ण बनाउने देखिएको छ।