संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन कन्याम–पञ्चकन्या खानेपानी आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारलाई मन्त्री प्रदीप यादवले कडा चेतावनी दिएका छन्।
स्वच्छ, सुरक्षित र शुद्ध खानेपानीको पहुँच नागरिकसम्म पुर्याउन समयमा आयोजना सम्पन्न हुनुपर्ने भन्दै मन्त्री यादवले ढिलाइ गर्ने ठेकेदारलाई कानुनी कारबाहीसहित ठेक्का रद्द गर्ने समेत बताएका छन्।
‘खानेपानी जस्तो अत्यावश्यक सेवा ढिला हुनु कत्तिपनि स्वीकार्य छैन,’ उनले भने, ‘अब सहेर बस्ने स्थिति छैन, तोकिएको समयमा काम पूरा नगर्नेविरुद्ध कडा कदम चालिनेछ।’
उनले थपे, ‘मन्त्रीको हैसियतले यहाँ आएको छु, समस्या समाधान गर्नुपर्छ; ठेकेदारले काम नगरेको खण्डमा ठेक्का रद्द हुनेछ।’
मन्त्रालयले अधुरा आयोजना छिटो पूरा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्दै ढिलासुस्ती बन्द गर्न निर्देशन दिएको छ।
कार्यक्रममा स्थानीय नेता, मन्त्रालयका वरिष्ठ अधिकारी र सरोकारवालाहरू पनि उपस्थित थिए।
सरकारले बजेट अभावका कारण रोकिएका खानेपानी आयोजनाहरू पूरा गरी जनतालाई भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।