टस हुनुभन्दा १० मिनेटअघि मात्र पाकिस्तान ओर्लिएका जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाले सात बलमै खेल पल्टाएर लाहोर कलन्दर्सलाई तेस्रो पटक पाकिस्तान सुपर लिग (पिएसएल) को उपाधि दिलाएका छन्।
रजाले ७ बलमा अविजित २२ रन बनाउँदै २०२ रनको विशाल लक्ष्य पछ्याउन मद्दत गरे। उनले २ छक्का र २ चौका प्रहार गर्दै ३१४.२९ को विस्फोटक स्ट्राइक रेटमा खेल सके। अन्तिम बलभन्दा एक बल अगाडि जित हात पार्दै लाहोरले क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले पराजित गर्यो।
ट्रेन्ट ब्रिजमा टेस्ट, गद्दाफी स्टेडियममा फाइनल
फाइनल खेलको २४ घण्टा अघिसम्म इंग्ल्यान्डको ट्रेन्ट ब्रिज मैदानमा इंग्ल्यान्डविरुद्ध चार दिवसीय टेस्ट खेलिरहेका रजाले दोस्रो इनिङमा ६० रनको योगदान दिएका थिए। खेल सकिएलगत्तै उनी विमान चढेर पाकिस्तान आइपुगे।
लाहोर कलन्दर्सले टिम शीटमै दुई विकल्प तयार गरेका थिए — एक रजासहित, अर्को शाकिब अल हसनसहित। तर रजा समयमै आइपुगेपछि टिमले उनलाई खेलाउने निर्णय गर्यो, यद्यपि टसको समयमा उनी मैदानमै थिएनन्।
रजाले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गर्दै भने, “टेस्टमा २५ ओभर बलिङ गरेँ, २० ओभर ब्याटिङ गरेँ, बर्मिंघममा खाना, दुबईमा खाजा, अबुधाबीमा लञ्च र पाकिस्तानमा डिनर खाएँ। यही हो प्रोफेसनल खेलाडीको जीवन। म धन्य छु।”
शाहीन, बाबर र रिजवान टी-२० टोलीबाट बाहिर
लाहोरलाई तेस्रो पीएसएल उपाधि जिताएका कप्तान शाहीन शाह अफ्रिदी भने बंगलादेशविरुद्धको आगामी टी-२० सिरिजका लागि पाकिस्तान टोलीबाट बाहिरिएका छन्। उनलाई पछिल्ला खराब प्रदर्शनका कारण टोलीमा राखिएको छैन।
पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम र मोहम्मद रिजवानलाई पनि यो पटक विश्राम दिएको छ। मे २८ बाट सुरु हुने यो श्रृंखला पाकिस्तानका नयाँ सेतो बल प्रशिक्षक माइक हेसेनको पहिलो जिम्मेवारी हुनेछ।
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि पाकिस्तान टोलीः
सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस (विकेटकिपर), मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर) र साइम अय्यूब।