रूसले युक्रेनमाथि हालसम्मकै ठूलो रात्रीकालीन मिसाइल र ड्रोन आक्रमण गर्दै युद्धको तीव्रता थपेको छ। आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् भने दर्जनौं घाइते भएका छन्।
आइतबार बिहान युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले दिएको विज्ञप्तिमा देशका ३० भन्दा बढी सहर र बस्तीसम्म उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्। उनले भने, “रूसले युद्धलाई लम्ब्याइरहेको छ र हरेक दिन निर्दोष नागरिकको हत्या गरिरहेको छ। संसारले सक्दो चाँडो यसतर्फ ध्यान दिनैपर्छ।”
कडा दबाबबिना युद्ध रोकिँदैन : जेलेंस्की
जेलेंस्कीले युक्रेनका सहयोगी राष्ट्रहरूलाई मस्कोमाथि थप दबाब दिन आह्वान गर्दै भने, “रूसी नेतृत्वमाथि वास्तविक र कडा दबाब बिना यो अमानवीयता रोकिँदैन।” उनले अमेरिका तर्फ संकेत गर्दै भने, “अमेरिकाको मौनताले पुटिनलाई अझ उक्साउनेछ।”
रातभरि ३६७ प्रकारका आक्रमण, २६६ ड्रोन निष्क्रिय
युक्रेनी वायुसेनाका अनुसार शनिबार राति ८:४० बजे (स्थानीय समय) देखि सुरु भएको आक्रमणमा रूसले विभिन्न प्रकारका ३६७ मिसाइल, मानवरहित ड्रोन र युएभी प्रहार गरेको थियो। तीमध्ये ४५ क्रुज मिसाइल र २६६ युएभी युक्रेनी वायुसेनाले निष्क्रिय पारेको दाबी गरिएको छ। आक्रमणका कारण युक्रेनभरि २२ स्थानमा क्षति पुगेको छ।
कति क्षेत्र प्रभावित, के कति क्षति?
युक्रेनका आन्तरिक मामिला मन्त्री इगोर क्लिमेन्कोका अनुसार १३ वटा क्षेत्र आक्रमणको चपेटामा परेका छन्, जहाँ ७० भन्दा बढी मानिस घाइते भएका छन्। ८० भन्दा बढी आवासीय भवनहरूमा क्षति पुगेको र २७ स्थानमा आगलागी भएको उनले जानकारी दिए।
सबैभन्दा दर्दनाक खबर झिटोमिर क्षेत्रबाट आएको छ, जहाँ ८, १२ र १७ वर्षका तीन बालबालिकाको ज्यान गएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। अभिभावकहरू अस्पतालमा उपचाररत छन्। किभ क्षेत्रमा चार जनाको मृत्यु र १६ जना घाइते भएका छन्। किभमै मात्र ११ जना घाइते भएको र केही आवासीय भवनमा आगलागी र क्षति भएको जनाइएको छ।
कीभ डे कैद, बंकरमा आश्रय
घटनाकै दिन युक्रेनको राजधानी किभले आफ्नो वार्षिक “कीभ डे” मनाइरहेको थियो। तर शहरमा ड्रोनको गुञ्ज, वायु प्रतिरक्षा प्रणालीको धमाका र विस्फोटका आवाजबीच सयौं नागरिकहरू भूमिगत मेट्रो स्टेशनमा शरण लिन बाध्य भए।
रूसमा पनि युक्रेनी ड्रोन आक्रमण
रूसी रक्षा मन्त्रालयका अनुसार आइतबार मध्यरातदेखि बिहान ७ बजेसम्म युक्रेनबाट पठाइएका ११० ड्रोनहरूलाई रुसको १२ वटा क्षेत्रमा खसालिएको वा निष्क्रिय पारिएको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार राजधानीतर्फ आउँदै गरेका १२ ड्रोनहरू खसालिएका छन्। तुला क्षेत्रको एक आवासीय भवनको आँगनमा ड्रोनको भग्नावशेष खस्दा केही झ्याल फुटेका छन् तर मानवीय क्षति भने नभएको जनाइएको छ।
३ दिनमा १,००० बन्दी आदानप्रदान
यसैबीच, युद्ध प्रारम्भ भएयता सबैभन्दा ठूलो बन्दी आदानप्रदानको क्रममा युक्रेन र रूसले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनमा १,०००/१,००० कैदीहरू साटासाट गरेका छन्। यो आदानप्रदान टर्कीमा भएको तीन वर्षपछि पहिलो प्रत्यक्ष वार्ताको परिणाम हो।
ट्रम्प–पुटिन वार्ता र युद्धबिरामको सम्भावना
केही दिन अघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई घन्टा लामो टेलिफोन वार्ता भएको थियो। ट्रम्पले वार्ता “सकारात्मक” भएको बताए पनि पुटिनले केवल "भविष्यका लागि सम्भावित सम्झौतामा काम गर्न तयार" रहेको बताएका छन्, तर ३० दिनको युद्धबिरामको प्रस्ताव भने स्वीकार गरेका छैनन्।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो र हालसम्म युक्रेनी भूमि करिब २०% भाग, जसमध्ये सन् २०१४ मा कब्जा गरिएको क्राइमिया पनि पर्दछ, रूसी नियन्त्रणमा रहेको छ।