स्पेनको चर्चित फुटबल क्लब रियल म्याड्रिडले आफ्नो पूर्वमिडफिल्डर जाबी आलोन्सोलाई नयाँ प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। उनले ३० जुन २०२८ सम्मको लागि तीन वर्षे सम्झौतामा क्लबसँग आवद्ध भएका छन्।
४३ वर्षीय आलोन्सोले खेलाडी जीवनमा रियल म्याड्रिडका लागि २३६ खेल खेलेका थिए। हालैसम्म जर्मन क्लब बायर लिभरकुसेनको प्रमुख प्रशिक्षक रहेका उनले केही समयअघि सिजन समाप्तिसँगै क्लब छोड्ने घोषणा गरेका थिए।
आलोन्सोले इटालियन प्रशिक्षक कार्लो एन्चेलोट्टीको स्थान लिनेछन्। एन्चेलोट्टीले शनिबार रियल म्याड्रिडका लागि अन्तिम खेल प्रशिक्षकको रूपमा सम्हालेका थिए र अब उनले ब्राजिल राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका सम्हाल्ने छन्।
आलोन्सोले २०१४ मा रियल म्याड्रिडका लागि खेल्दै च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनी सोमबार क्लबको प्रशिक्षण केन्द्रमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ भने १८ जुनमा साउदी अरबको क्लब अल–हिलालविरुद्धको खेलमार्फत क्लब विश्वकपमा आफ्नो पहिलो जिम्मेवारी सम्हाल्नेछन्।
पूर्व लिभरपुल र स्पेनका मिडफिल्डर आलोन्सोलाई हालै एन्चेलोट्टीले “विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक” भनेका थिए।
आलोन्सोले सन् २०२३–२४ को सिजनमा बायर लिभरकुसेनलाई इतिहासमै पहिलो पटक बुन्डेसलिगा उपाधि जिताएका थिए, त्यो पनि अपराजित यात्रामार्फत। सोही सिजन उनले जर्मन कप पनि जिते र क्लबलाई डोमेस्टिक डबल दिलाए। यद्यपि, उनीहरूको युरोपा लिगको यात्रा फाइनलमा अटलान्टासँग पराजयपछि टुंगिएको थियो।
यसै सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखसँग हार्दै प्रतियोगिताबाट बाहिरिएको लिभरकुसेन जर्मन कपको सेमिफाइनलमा तेस्रो डिभिजनको क्लब आर्मिनिया बेलिफेल्डसँग पराजित भएको थियो।
पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक एरिक टेन हाग आलोन्सोको स्थान लिन लिभरकुसेनसँग सम्झौताको अन्तिम चरणमा पुगेका छन्।
आलोन्सोले आफ्नो प्रशिक्षण करियर सन् २०१८ मा रियल म्याड्रिडको यू–१४ टिमबाट सुरु गरेका थिए। त्यसपछि उनले तीन वर्ष रियल सोसिडाड बी टिमको नेतृत्व गरे। उनले अक्टोबर २०२२ मा लिभरकुसेनको पहिलो टोलीको प्रशिक्षक बनेर क्लबलाई दोस्रो स्थानबाट उकासेर उत्कृष्ट प्रगति गराएका थिए।
विश्वकप २०१० का विजेता तथा दुईपटक युरोपियन च्याम्पियन बनिसकेका आलोन्सो यसअघि रियल म्याड्रिड, लिभरपुल र बायर्न म्युनिखसँग जोडिए पनि २०२४ को मार्चमा लिभरकुसेनमै बस्ने निर्णय गरेका थिए।
अब भने, उनी आफ्नो करियरको अर्को महत्वपूर्ण अध्याय सुरु गर्दै रियल म्याड्रिडको बेंचबाट नयाँ सफलताको यात्रा तय गर्ने तयारीमा छन्।