भोजपुरी प्रतिष्ठान वीरगन्जले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा, आपन पहचान’ अभियान सञ्चालन गरेको छ। अभियानको पहिलो चरणमा शुक्रबार कन्या माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले भोजपुरी भाषाको ऐतिहासिक पृष्ठभूमि, यसको सामाजिक एवं सांस्कृतिक महत्वबारे विद्यार्थीहरूसँग संवाद गर्दै मातृभाषाको संरक्षण र प्रवर्द्धनमा सबैको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भाषा विकासका उपायहरूबारे विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल गरे।
प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्वबारे जानकारी गराउँदै यसलाई संरक्षण गर्न सजिलो उपायहरू प्रस्तुत गरे। उनले विद्यार्थीहरूलाई चित्र बनाउन प्रेरणा दिने व्यावहारिक अभ्यास समेत गराए।
कवि तथा गीतकार आमोद गुप्ताले आफ्नै रचना वाचन गर्दै भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्वको सन्देश दिए। उनले कविता लेखनमा आवश्यक सिर्जनात्मक सोच र अभ्यासका विषयमा मार्गदर्शन गरे।
कार्यक्रममा श्याम सर्राफले मातृभाषाको प्रयोग गर्न लाज नमान्न आग्रह गर्दै स्थानीय लोकधुन र लोकगीतहरूको प्रचार–प्रसारमा विद्यार्थीलाई सक्रिय हुन आह्वान गरे।
कार्यक्रम भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन माधुरी महतोले गरेकी थिइन्। कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
भोजपुरी प्रतिष्ठानले भविष्यमा पनि ‘आपन भाषा, आपन पहचान’ अभियानलाई निरन्तरता दिने जनाएको छ। संस्था अनुसार अभियानको उद्देश्य विद्यार्थीहरूमा मातृभाषाप्रति गौरवभाव जागृत गर्नु र भाषाको संरक्षण तथा विकासमा सक्रिय भूमिका खेल्ने संस्कार विकास गर्नु हो।