न्युयोर्क सहरको ब्रुक्लिन ब्रिजमा शनिबार साँझ मेक्सिकोको नौसेनाको तालिम जहाज क्वाउतेमोक ठोक्किँदा दुई जनाको मृत्यु भएको र कम्तीमा १९ जना घाइते भएका छन्। सहरका मेयर एरिक एडम्सले घटनाको पुष्टि गरेका छन्।
एडम्सका अनुसार जहाजले ब्रिजअगाडि पावर गुमाएको थियो। अमेरिकी अधिकारीहरूले जहाजमा जम्मा २७७ जना रहेका जानकारी दिएका छन्। यो जहाज सद्भाव भ्रमणमा आएको थियो।
घटनाको फुटेजमा जहाजको अग्लो मास्ट ब्रुक्लिन ब्रिजको ढाँचामा ठोक्किँदै गरेको देखिन्छ। ठोक्किँदा मास्टमा रहेका चालक दलका सदस्यहरु तल खसेका थिए।
न्युयोर्क कोस्ट गार्डका अनुसार जहाजको दुईवटा मास्टको शीर्ष भाग टुक्रिएर तल खसेको थियो। सबै चालक दलका सदस्यहरू सुरक्षित छन् र घाइतेलाई अस्पतालमा पुर्याइएको छ।
न्युयोर्क पुलिसका प्रमुखले जहाजमा “मेकानिकल समस्या” र पावर कट हुँदा ब्रिजसँग ठोक्किएको विश्वास व्यक्त गरेका छन्।
ब्रुक्लिन ब्रिज नजिकैको पानी किनारमा बसेका धेरै मानिसहरू मास्ट ठोक्किँदा भागेका थिए।
स्थानीय बासिन्दा केल्भिन फ्लोरेसले बीबीसीसँग भने, “म काममा थिएँ, दुर्घटना देखेपछि सडकमा आएँ। त्यहाँ आगो निभाउने गाडी र प्रहरीहरू धेरै थिए तर ट्राफिक जाम थियो। घाइतेलाई लिएर मानिसहरू व्यस्त थिए।”
न्युयोर्क प्रहरीले ब्रुक्लिन ब्रिज, साउथ स्ट्रीट सिपोर्ट (म्यानहट्टन) र डम्बो (ब्रुक्लिन) क्षेत्रमा सवारी तथा मानिसहरूलाई जान नहुन आग्रह गरेको छ।
न्युयोर्क प्रहरी विभागले सामाजिक सञ्जाल X मा "भारी ट्राफिक र आपतकालीन गाडीहरूको उपस्थिति रहने" जानकारी दिएका छन्। घटनापछि क्वाउतेमोक जहाजलाई टो गरेर लगिएको छ।
मेक्सिको नौसेनाका अनुसार, यो जहाज ९१ मिटर लामो र १२ मिटर चौडाइको छ र सन् १९८२ मा पहिलो पटक पानीमा उत्रिएको हो।
हरेक वर्ष नौसेनाको सैनिक विद्यालयका क्याडेटहरूको तालिम पूरा गर्न यो जहाजले यात्रा तय गर्दछ। यस वर्ष यो ६ अप्रिलमा मेक्सिकोको एकापुल्को बन्दरगाहबाट प्रस्थान गरेको थियो र यसको अन्तिम गन्तव्य आइसल्यान्ड थियो।