लामो समयदेखि पत्रकारितामा समर्पित वरिष्ठ पत्रकार फणिदेव महतको गएराति निधन भएको छ। ब्रेन ट्युमरबाट पीडित महतको ४८ वर्षको उमेरमा निधन भएपछि नेपाली सञ्चारजगत शोकमा डुबेको छ ।
छापा, अनलाइन र रेडियो पत्रकारितामा एकैसाथ सक्रिय रहँदै आएका महत अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता, रेडियो सुप्रिमका सञ्चालक तथा कलमपाटी डटकमका संस्थापक थिए। प्रेस चौतारीमार्फत उनले मधेश प्रदेशको नेतृत्व सम्हाल्दै पत्रकारको हकहित र सामाजिक न्यायको पक्षमा लामो समयसम्म कलम चलाएका थिए ।
विपन्न र दलित समुदायको आवाज उठाउँदै आएका महतले खोजी पत्रकारितामा उल्लेखनीय योगदान दिएका थिए । स्वास्थ्य अवस्थाको कारण लामो समयदेखि उपचाररत रहेका महतको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। यद्यपि, आर्थिक अभावले उपचार प्रक्रिया निरन्तर कठिन बनेको परिवारले जनाएको छ ।
उनको निधनले रौतहटको पत्रकारिता एक नक्षत्र गुमाएको महसुस गरिएको छ। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले भने, "रौतहटको पत्रकारिताको एक उज्यालो तारा अस्ताएको छ। देशकै पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।"
महतको निधनको खबर फैलिएसँगै रौतहटलगायत देशभरबाट राजनीतिज्ञ, कर्मचारी, शिक्षक, पत्रकार र बुद्धिजीवीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। एक स्थानीय बुद्धिजीवीले भावुक हुँदै भने, "निष्ठा, प्रतिबद्धता र साहसको प्रतीक महतको निधनले हामी सबै शोकमा छौं।"
महतको पार्थिव शरीरलाई बुधवार सार्वजनिक श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। उनकी श्रीमती र दुई नाबालक छोरा छन् ।