अशोककुमार तिवारी
सचिव
नेपाल पत्रकार महासंघ आचारसंहितामा नबस्दा पत्रकार असुरक्षित
पत्रकारहरूले आचारसंहिता पालना नगर्दा भौतिक सुरक्षासम्बन्धी समस्या उत्पन्न हुन सक्छ । पत्रकारिताको क्रममा जथाभावी लेख्ने, जहाँ पायो त्यही माइक तेस्र्याउने, तथ्यको पर्याप्त पुष्टि नगरी समाचार प्रकाशन गर्ने प्रवृत्तिले पत्रकार स्वयंलाई असुरक्षित अवस्थामा पु¥याएको छ । पत्रकार महासंघले पटकपटक आचारसंहिताको पालना गर्न आग्रह गर्दै आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको भए पनि कतिपय अवस्थामा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन । पत्रकारितामा कहाँ जाने, कहाँ नजाने, के विषयमा बोल्ने वा लेख्ने तथा कुन विषयमा संवेदनशीलता अपनाउने भन्ने विषयमा विवेकपूर्ण निर्णय गर्न आवश्यक हुन्छ । अहिले सामाजिक सञ्जाल र एआईको व्यापक प्रयोग भइरहेको अवस्थामा एउटा गलत समाचार, अपुष्ट सूचना वा भ्रामक सामग्रीले समेत तत्कालै ठूलो प्रभाव पार्न सक्छ र पत्रकार तथा सञ्चारकर्मीको सुरक्षामा जोखिम निम्त्याउन सक्छ ।
केसी लामिछाने
लेखा समिति संयोजक
नेपाल पत्रकार महासंघ पत्रकारिता गुणात्मक बनाउन सकिएन
मधेश प्रदेशमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षा अझै सन्तोषजनक बन्न सकेको छैन । सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले समेत राज्यले निर्धारण गरेको पारिश्रमिक पूर्णरूपमा प्राप्त गर्न नसकेको अवस्था छ । निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारको अवस्था झन् चुनौतीपूर्ण छ । उनीहरूले न्यूनतम पारिश्रमिकसमेत प्राप्त गर्न नसकेको र कतिपय सञ्चारमाध्यम स्वयंले तोकिएको पारिश्रमिक उपलब्ध गराउन सक्ने अवस्था नरहेको देखिन्छ । अर्कोतर्फ, सञ्चारमाध्यमहरूले दक्ष, कामकाजी र गुणस्तरीय पत्रकारको अभाव रहेको बताउँदै आएका छन् । पत्रकारको संख्या बढे पनि पत्रकारिताको गुणस्तर अपेक्षित रूपमा सुधार हुन सकेको छैन । यही परिस्थितिका कारण कतिपय पत्रकार आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने अभ्यासतर्फ अग्रसर भएका छन् । यसले सञ्चारमाध्यमको संख्या बढाए पनि पत्रकारिता र समाचार उत्पादनको गुणस्तरमा आवश्यक मापदण्ड, सम्पादकीय निगरानी र व्यावसायिक परीक्षण कमजोर हुने जोखिम बढाएको छ । यस्तो अवस्थामा पत्रकार आचारसंहिताको प्रभावकारी पालना पनि चुनौतीको विषय बनेको छ । यससँगै पत्रकारमाथि हुने भौतिक आक्रमणका घटना पनि चिन्ताजनक रूपमा देखिन थालेका छन् ।
दीपेन्द्र चौहान
एसिया प्यासिफिक संयुक्त सचिव
विश्व पत्रकार संघमधेशका पत्रकारहरूको सुरक्षा तुलनात्मक रुपमा राम्रो छ
मधेशका पत्रकारहरूको पेशागत र भौतिक सुरक्षा तुलनात्मक रुपमा राम्रो छ । मधेश प्रदेश सरकारले सहयोग गरेको छ । स्थानीय सरकारले पनि सहयोग गरेको छ । पत्रकारले जे पायो त्यही बोल्ने र लाइभको नाममा सुन्न असहज लाग्ने कुरा पनि आउने समस्याले गर्दा पेशागत असरक्षा बढाएको छ । यसमा नियन्त्रणका लागि प्रेस काउसिल सक्रिय हुनुपर्छ । अर्कातिर, युट्युबर र पत्रकारलाई एउटै बुझ्ने परिपाटी छ । युट्युबरमा राम्रो गर्ने पनि छन् । राम्रो गर्नेलाई संरक्षण गरिनु पर्दछ । कन्टेन्ट नभई जे पायो त्यही प्रसारण गर्नेलाई कारवाहीको दयरामा राख्नु पर्दछ ।
ओमप्रकाश खनाल
अध्यक्ष
नेपाल पत्रकार महासंघ, पर्सा पत्रकारको पेशागत सुरक्षा सन्तोषजनक छैन
मधेशमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षा अझै पनि सन्तोषजनक अवस्थामा छैन भन्ने हाम्रो मूल्यांकन छ । पछिल्ला घटनाक्रमले पनि पत्रकारहरूले समाचार संकलन र प्रसारणका क्रममा धम्की, दबाब, दुव्र्यवहार तथा भौतिक आक्रमणको सामना गर्नुपरेको देखाउँछ । मधेशलाई पत्रकारका लागि उच्च जोखिम देखिएका क्षेत्र मानिएको छ । विशेषगरी राजनीतिक, आर्थिक, भ्रष्टाचार, तस्करी, अवैध गतिविधि वा शक्तिशाली समूहसँग सम्बन्धित विषयमा रिपोर्टिङ गर्दा पत्रकारमाथि दबाब र धम्की आउने अवस्था अझै विद्यमान छ । पर्सामै पनि पत्रकारलाई समाचार लेखेको विषयमा दुव्र्यवहार तथा धम्कीका घटना अभिलेख भएका छन् । अर्कोतर्फ, पेशागत सुरक्षाको अवस्था पनि चुनौतीपूर्ण छ । धेरै सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर छन् । पत्रकारले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था छ । नियमित रोजगारी, सामाजिक सुरक्षा, दुर्घटना तथा स्वास्थ्य बीमाजस्ता आधारभूत सुविधाको अभाव छ । यस्तो अवस्थामा पत्रकारलाई स्वतन्त्र र निर्भीक भएर काम गर्न कठिन हुन्छ । पत्रकारमाथिको आक्रमण केवल एउटा व्यक्तिमाथिको आक्रमण होइन, यो प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथिको आक्रमण हो । पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु राज्य, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार संस्थाहरू सबैको साझा जिम्मेवारी हो ।
हामीले पत्रकारलाई पनि तथ्यमा आधारित, जिम्मेवार, सन्तुलित र आचारसंहिताप्रति प्रतिबद्ध पत्रकारिता गर्न आग्रह गर्दै आएका छौं । तर, पत्रकारितामा कमजोरी भए त्यसको समाधान कानूनी वा पेशागत प्रक्रियाबाट हुनुपर्छ, धम्की, हातपात वा दबाबबाट होइन । त्यसैले अब मधेशमा पत्रकारको सुरक्षा सुनिश्चित गर्न घटनाको तत्काल अनुसन्धान, दोषीमाथि कानूनी कारवाही, पत्रकारका लागि सुरक्षा संयन्त्र र सञ्चारकर्मीको पेशागत तथा आर्थिक सुरक्षाका लागि ठोस नीति आवश्यक छ । राष्ट्रियस्तरमै पत्रकारमाथिका प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढिरहेको तथ्यले पनि यो विषयलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने देखाउँछ ।
जितेन्द्र खड्गा
अध्यक्ष
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश प्रदेश सरकारबाट भइरहेका पहल सकारात्मक छन्
मधेशमा पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाको अवस्था अझै सन्तोषजनक हुन सकेको छैन । लोकतन्त्रको मूल आधार प्रेस स्वतन्त्रता हो । तर, संघीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका निर्णयहरू गरिरहेको अवस्थामा पत्रकारहरूको पेशागत सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको छ । यद्यपि, मधेश प्रदेश सरकारले मधेशका पत्रकारहरूको पेशागत सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले विभिन्न गतिविधि अघि बढाएको छ । पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षा मजबुत बनाउन प्रदेश सरकारबाट भइरहेका पहल सकारात्मक छन् । पछिल्लो समय सामाजिक सञ्जाल तथा प्रविधिको तीव्र प्रयोगका कारण मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको समस्या पनि व्यापक बन्दै गएको छ । अहिले हातमा मोबाइल हुने जोकोहीले सूचना सम्प्रेषण गर्न सक्ने अवस्था छ । तर, जिम्मेवार सञ्चारमाध्यमहरूले प्राप्त सूचनाको तथ्य परीक्षण तथा प्रमाणीकरण गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्ने गरेका छन् । यस प्रक्रियाका कारण समाचार सम्प्रेषणमा केही ढिलाइ हुने गरेको छ । कतिपय अवस्थामा जिम्मेवार सञ्चारमाध्यमले तथ्य परीक्षण गरिरहेकै बेला अप्रमाणित तथा गलत सूचनाहरू सामाजिक सञ्जालमा भाइरल भइसकेका हुन्छन् । तत्काल सूचना प्राप्त गर्ने र तुरुन्तै सम्प्रेषण गरिहाल्ने प्रवृत्तिले यस्तो समस्या अझ बढाएको छ । सामाजिक सञ्जालमा भाइरल भएका गलत सूचनाको अपजससमेत आम पत्रकार तथा जिम्मेवार सञ्चारमाध्यमले व्यहोर्नुपर्ने अवस्था देखिएको छ । त्यसैले, पत्रकारको पेशागत सुरक्षा सुनिश्चित गर्नुका साथै सञ्चारमाध्यमप्रति आम नागरिकको विश्वास कायम राख्न तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय पत्रकारितालाई प्राथमिकता दिन आवश्यक छ । मिसइन्फर्मेसन र डिसइन्फर्मेसन नियन्त्रणका लागि पत्रकार, सञ्चारमाध्यम, सरकार तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउन जरुरी छ ।
बन्दना झा
कावा अध्यक्ष
मिडिया काउन्सिल, मधेश प्रदेश भौतिक तथा पेशागत सुरक्षाको अवस्था मिश्रित छ
मधेशमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको अवस्था मिश्रित छ । पत्रकारमाथि कुटपिट, धम्की, सञ्चार उपकरण खोस्ने, रिपोर्टिङमा अवरोध गर्ने र समाचार हटाउन दबाब दिने घटना आठवटै जिल्लामा अभिलेख भएका छन् । यसले पत्रकारको भौतिक सुरक्षासँगै पेशागत स्वतन्त्रता, संस्थागत संरक्षण र आर्थिक सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको छ । यस्ता घटनाले पत्रकार सुरक्षा केवल कुटपिटबाट जोगिनुमात्र नभएको देखाउँछन् । म यसलाई चार तहमा हेछ–भौतिक सुरक्षा, पेशागत स्वतन्त्रता, संस्थागत संरक्षण र आर्थिक तथा सामाजिक सुरक्षा । तर, पत्रकारको अधिकारसँगै जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । तथ्य पुष्टि, आचारसंहिताको पालना र जिम्मेवार पत्रकारिता अनिवार्य छ । पत्रकारिताको मर्यादा कमजोर हुँदा त्यसको असर समग्र प्रेस स्वतन्त्रतामाथि पर्छ । त्यसैले मिडिया काउन्सिल मधेश प्रदेशको भूमिका पत्रकारलाई मात्र संरक्षण गर्ने वा दोष दिने होइन, अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्दै पत्रकारितालाई जिम्मेवार, मर्यादित र विश्वसनीय बनाउनु हो । घटना भएपछि प्रतिक्रिया दिनुभन्दा घटना हुन नदिने वातावरण निर्माण, क्षमता अभिवृद्धि, अभिलेखीकरण, उजुरी सुनुवाइ र सुरक्षा निकायसँग समन्वयलाई प्राथमिकता दिनुपर्छ । पत्रकारको सुरक्षा विशेष सुविधा होइन, आफ्नो कर्तव्य निर्वाध रूपमा निर्वाह गर्न पाउने वातावरण हो ।
मनिका झा
पत्रकार, जनकपुरपेशागत मर्यादा कायम राख्न संघर्षरत छन्
मधेशका पत्रकारहरू अहिले पेशागत जोखिममा छन् । कोभिडको महामारी देखि जेनजी आन्दोलनसम्म आइपुग्दा मधेशका पत्रकारहरूले सञ्चारगृहबाट अवसरमात्रै गुमाएनन्, आफ्नो जीविका कसरी चलाउने भन्नेमा समेत समस्याग्रस्त भए । त्यसैगरी मिडिया जगतमा डिजिटल मिडियाको आगमनले पेशागत असुरक्षालाई थप गरेको छ । विशेषगरी छापा सञ्चार माध्यमबाट पत्रकारिता गरेका पुराना पत्रकारहरूलाई प्रविधिको ज्ञान र सीप नहुनुले उनिहरूमा पेशा चलाइराख्न चुनौती थपेको छ । अर्काेतर्फ सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको नाउँमा सुचनाको बाढी आउने र त्यसले पत्रकारिताको चुनौतीलाई थप्ने समस्या छँदैछ । यी सबै समस्या र अवरोधहरूको बावजुद पनि मधेशका पत्रकारहरू आफ्नो पेशागत मर्यादा कायम राख्न संघर्षरत छन् ।
माधुरी महतो
पत्रकार
पत्रकार महिलाहरू थप समस्यामा छन्
मधेशमा समाचार संकलन तथा सम्प्रेषणका क्रममा पत्रकारहरूले भौतिक र पेशागत चुनौतीहरूको सामना गरिरहेका छन् । अनियमितता, अपराध, भ्रष्टाचार र जनसरोकारका संवेदनशील मुद्दामा निर्भीक भएर कलम चलाउने पत्रकारहरू सत्ता, शक्ति र स्थानीय प्रभावशाली समूहको तारो बन्ने गरेका छन् । जनताको आवाज बनिदिएकै भरमा सत्य समाचार लेख्ने पत्रकारहरूलाई धम्की र दुव्र्यवहारमात्र नभई अनाहकमा कानूनी झमेला र प्रशासनिक हैरानीमा पार्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष प्रहार गरेको छ । अर्कोतर्फ, यस पेशाको विश्वसनीयता पत्रकार स्वयम्को व्यावसायिक आचरणसँग पनि जोडिएको छ । सञ्चारमाध्यमलाई आफ्नो व्यक्तिगत दुस्मनी साँध्ने, पूर्वाग्रह पोख्ने वा बार्गेनिङको माध्यम बनाएर समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने गलत अभ्यासहरू अन्त्य हुनुपर्छ । पत्रकारहरूले पेशागत आचारसंहिता, तथ्यपरकता र सन्तुलन कायम राख्दै मर्यादित रूपमा काम गरेमा अनावश्यक विवाद र सुरक्षा जोखिमहरू स्वतः कम भएर जान्छन् । पत्रकार महिलाहरू थप समस्यामा छन् । लैङ्गिक विभेद, कार्यस्थलमा हुने दुव्र्यवहार, अनलाइन हिंसा, चरित्रमाथि प्रश्न उठाउने प्रवृत्ति तथा पारिवारिक जिम्मेवारीका कारण पेशागत चुनौती भोग्नुपरेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जालमा ट्रोलिङको सामना गर्नुपर्ने अवस्था देखिन्छ । त्यसैले पत्रकार महिलाका लागि सुरक्षित र सम्मानजनक कार्यस्थल, समान पारिश्रमिक, लैङ्गिक संवेदनशीलता, यौन दुव्र्यवहारविरुद्ध प्रभावकारी संयन्त्र, डिजिटल सुरक्षाको व्यवस्था तथा आवश्यक कानूनी सहयोग सुनिश्चित गर्न जरुरी छ ।