मध्य नेपाल साप्ताहिकको ११ औं वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा देखिएका समसामयिक चुनौती र त्यसको समाधानका उपायबारे सरोकारवालाबीच गम्भीर मन्थन भएको छ । मुख्य रुपमा बदलिँदो प्रविधि, सामाजिक सञ्जालको विस्तार, आर्थिक संकट, सूचनाको विश्वसनीयता र पत्रकारको व्यावसायिक सुरक्षाजस्ता विषय उठेका छन् ।
पत्रकारिताको चुनौती केवल प्रविधि वा आर्थिक संकटमात्र नभएर विश्वसनीयता र व्यावसायिकताको संकट पनि भएको औंल्याइएको छ । पत्रकारितालाई टिकाउन आर्थिक मोडलको सुधारसँगै पत्रकारको क्षमता विकास, आचारसंहिताको पालना, तथ्यमा आधारित समाचार र राज्य तथा निजीक्षेत्रबाट जिम्मेवार सहकार्य आवश्यक रहेको सहभागी वक्ताहरुले बताएका छन् ।
समारोहमा प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि)सहित पत्रकारिता, सञ्चार नियमन, उद्योग व्यवसाय र नागरिक क्षेत्रका प्रतिनिधिहरूले पत्रकारिताको वर्तमान अवस्था र आगामी बाटोबारे धारणा राखेका थिए ।
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल) प्रतिनिधिसभा सदस्य पन्तले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा राख्दै पत्रकारितामाथि कुनै पनि किसिमको राजनीतिक वा आर्थिक दबाब सिर्जना गर्न नहुने बताएका छन् । उनले राज्यका गतिविधिमाथि खबरदारी गर्ने सञ्चारमाध्यमलाई संरक्षण र पत्रकारको पेशागत सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको अपेक्षा गर्न सकिन्छ । तर, प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता स्वीकार्य नहुने पनि उनले बताए । पत्रकारले कसैको मानहानी र मानमर्दन हुने गरी पत्रकारिता गर्न नहुने भन्दै विकृतिलाई सच्याएर अघि बढ्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिता क्षेत्रमा देखिएको आर्थिक संकटलाई अहिलेको प्रमुख चुनौतीका रूपमा औंल्याए । उनले अहिलेको सरकार मिडियाप्रति पूर्ण पूर्वाग्रही बनेको आरोपसमेत लगाए ।
आमसञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खड्गाले डिजिटल माध्यमको विस्तारसँगै सूचना सम्प्रेषणमा आएको तीव्रतालाई अवसरसँगै चुनौतीका रूपमा व्याख्या गरे । सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना, भ्रामक सामग्री र हतारमा समाचार प्रकाशन गर्ने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर बनाउन सक्ने भएकाले तथ्य परीक्षण र पत्रकारिताको आचारसंहितालाई कडाइका साथ पालना गर्नुपर्ने उनले बताए । प्राधिकरणले मेधशका मिडियाको संरक्षण र प्रवद्र्धनमा काम गरेको दाबी उनको थियो ।
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल) मिडिया काउन्सिल मधेशका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारिता र सामाजिक सञ्जालबीचको अन्तर स्पष्ट गर्नुपर्ने धारणा राख्दै पत्रकारलाई समाचार संप्रषणमा अझ चनाखो र जिम्मेवार हुन आग्रह गरिन् । पर्सा जिल्लामा आचारसंहितका उल्लंघनका विषय बढी देखिएको भन्दै उनले काउन्सिलले यसमा निगरानी गरिरहेको पनि बताइन् । सूचना पाउने माध्यम धेरै भए पनि विश्वसनीय सूचना दिने जिम्मेवारी अझै पत्रकारिताकै भएको उनको दाबी थियो । त्यसैले पत्रकारले प्रविधिसँग प्रतिस्पर्धा गर्नेभन्दा प्रविधिलाई उपयोग गर्दै आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् ।
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल) नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय तहमा हुने गतिविधि, विकास निर्माण, अनियमितता र नागरिकका सवाललाई निरन्तर उठाउने स्थानीय सञ्चारमाध्यमलाई टिकाइराख्न राज्य तथा निजीक्षेत्र दुवैको सकारात्मक भूमिका आवश्यक रहेको बताए । मध्य नेपाल साप्ताहिकले व्यावसायिक पत्रकारिता र आचारसंहिता पालनाको सवालमा अनुकरणीय काम गरेको भन्दै प्रशंशा गरे । मध्य नेपालले समाचार प्रकाशनमात्र नगरे समाजका उत्पीडित, पिछडिएका वर्ग समुदायको आवाज मुखरित गर्दै समाजप्रतिको उत्तरदायित्व पनि पूरा गरेको उनको भनाइ थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्र र सञ्चारमाध्यमबीचको सम्बन्धलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उद्योग व्यवसायको विकासमा सकारात्मक र तथ्यपरक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने भन्दै उनले विज्ञापनलाई केवल व्यावसायिक कारोबारका रूपमा नभई सञ्चार क्षेत्रको दिगोपनासँग जोडेर हेर्नुपर्ने बताए । सरकारले निजीसञ्चारमाध्यमलाई अन्याय गरेको पनि उनले बताए ।
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल) नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य सुबोध गुप्ताले आर्थिक रूपमा सबल सञ्चारमाध्यमबिना स्वतन्त्र पत्रकारिता दीर्घकालसम्म टिक्न कठिन हुने धारणा राखे । निजीक्षेत्र, सञ्चारमाध्यम र राज्यबीच सहकार्यको वातावरण निर्माण गर्न सके पत्रकारिताको व्यावसायिकता र प्रभावकारिता दुवै बढ्ने उनको निष्कर्ष थियो ।
-1788158379.jpg)
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल) समारोहको अध्यक्षता मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खड्काले गरेकी थिइन् । उनले मध्य नेपालले पत्रकारिताले सीमित स्रोतसाधन र अनेक चुनौतीका बीच पनि जनताको आवाज उठाउँदै आएको उल्लेख गरिन् । पत्रिकाको ११ वर्षको यात्रामा साथ सहयोग दिने सबैप्रति आभारसमेत प्रकट गरिन् ।
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल)
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल)
तस्वीरः सजल श्रेष्ठ (मध्य नेपाल)