खानेपानीमन्त्री प्रदीप यादवले विकासलाई जनताले प्रत्यक्ष अनुभूति गर्ने ढंगमा अगाडि बढाइरहेको दाबी गर्दै सोमबार रंगेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास गरे। उनले नेतृत्वलाई सत्ताको कुर्सीभन्दा नागरिकप्रति इमानदार सम्बन्ध ठहर गर्दै समृद्ध नेपालको लक्ष्यप्रति सरकार प्रतिबद्ध रहेको बताए।
रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सीमित स्रोतसाधनका बाबजुद तीनै तहको सरकारसँगको समन्वयमा उत्कृष्ट काम गर्नु आफ्नो दायित्व भएको बताए।
“हामी नेपाली जनताका सेवक हौं, जनताको खुशी नै सरकारको खुशी हो,” मन्त्री यादवले भने, “खानेपानी नागरिकको मौलिक हक हो, यसलाई सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व हो।”
उनले ‘एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई सम्भावनाबाट यथार्थतर्फ डो¥याउन सरकार लागिपरेको उल्लेख गर्दै, सन् २०३० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउने दिगो विकास लक्ष्य हासिल गर्न योजना अघि बढाइएको जानकारी दिए।
आयोजनाबाट ३१६९ घरधुरी लाभान्वित हुने
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठका अनुसार, आयोजना सम्पन्न भएपछि रंगेली नगरपालिकाको वडा नं. २ (लक्ष्मीपुर, दौलतपुर) र वडा नं. ९ (दोभाना बजार र फर्साडाँगी) का ३,१६९ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्।
श्रेष्ठले गुणस्तर, समयसीमा र पारदर्शिताको मापदण्डअनुसार प्रविधिमैत्री निर्माण हुने उल्लेख गर्दै निर्माणमा लापरवाही नहुने र प्राविधिक अनुगमन निरन्तर गरिने आश्वासन दिए।
महिलाको बोझ घट्ने, स्वास्थ्यमा सुधारको अपेक्षा
उक्त आयोजनाबाट पानी ल्याउन लामो दूरी हिँड्नुपर्ने बाध्यता हट्ने र महिला तथा बालबालिकाको जीवनशैलीमा सहजता आउने अपेक्षा गरिएको छ। साथै, सामुदायिक स्वास्थ्यमा सुधार र पानीजन्य रोगको जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ।
रंगेली नगरप्रमुख दिलीपकुमार अग्रवालले आयोजना कार्यान्वयनपछि रंगेलीलाई स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर नगरका रूपमा उभ्याउने लक्ष्य रहेको बताए।
“गुणस्तरीय पानीले नागरिकको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउनेछ, र दीर्घकालमा औषधि खर्चसमेत घटाउनेछ,” नगरप्रमुख अग्रवालले भने।