सडक दूर्घटनामा मानिस मात्र होइन पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतका सडकखण्डमा वन्यजन्तुको पनि मृत्यु हुने गरेको पाइएको छ । सवारीको तिब्र गति र मौषम प्रतिकुलको कारण जंगली क्षेत्रको सडकखण्डमा जंगली जनावरहरुको पनि सडक दूर्घटनामा मृत्यु हुने गरेको पाइएको छ ।
पूर्व पश्चिम राजमार्ग पार गर्ने क्रममा दूर्लभ प्रजातिका जनावरहरु पनि परेका छन् । गत महिनामा पाटेबाघ दुर्घटनामा पर्नु त्यसैको उदाहरण हो । तीव्र गतिको कारसंग ठोक्किँदा सो पाटे बाघ घाइते भएको बुझिएकोा छ । घटनास्थलमा भेटिएका रौ र रगतको डिएनए परीक्षण र त्यो बाघ हिँडेको पाइलाको अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्ज भित्रको सो बाघ दुर्घटनामा परेको पुष्टि भएको निकुञ्जले जनाएको हो ।
निकुञ्ज संरक्षणमा कार्यरत सरकारी निकाय एवं मध्यवर्ती वन क्षेत्रका उपभोक्तालाई समेत हालसम्म घाइते बाघको स्वास्थ्य अवस्था कस्तो छ ? भन्ने एकिन हुन सकेको छैन । निकुञ्जका कर्मचारी तथा सुरक्षामा खटिएका नेपाली सेनाले बाघको खोजी गरिरहेका छन् । घाइते बाघ अझै भेटिएको छैन । म¥यो कि जिउँदै छ जानकारी छैन, निकुञ्जको क्षेत्र ठूलो छ । कता लुक्यो खोजी भइरहेको छ त्यहाँका कर्मचारीले बताए । सम्भावित सबै स्थान खोजिसक्यौं । तर भेटिएको छैन । निकुञ्जका अनुसार गत महिनामा मात्रै निकुञ्जमा संरक्षित हनुमान बाँदर, चित्तल, साम्बर लगायत विभिन्न पाँच प्रकारका वन्यजन्तुको सवारी साधनमा ठोक्किएर मृत्यु भइसकेको छ । वन्यजन्तु रमाउने समय विशेष गरी साँझ र बिहानपख हुने र सोहि समयमा सवारी पनि तिव्र गति र प्रतिकुल मौसम हुँदा राजमार्गमा दूर्घटना बढेको हो उनीहरुले भने ।
गत वर्षको फागुनमा सोही सडक पार गर्दा पाटे बाघ दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुन पुगेको थियो । सन् २०१३ मा निकुञ्जभित्र सात बाघ रहेकोमा बढेर २०१७ मा १९ पुगेको थिए । गत वर्ष चित्तल, बँदेल, रतुवा मृग, बाँदर लगायतका ३७ वन्यजन्तुको मृत्युको कारण यही राजमार्ग बनेको थियो । बारा, पर्सा र मकवानपुर जिल्लाका ६२७ वर्ग किमी भू–भाग निकुञ्जले ओगटेको छ । यातायात आवागमनका दृष्टिले अति व्यस्त सो राजमार्गको करीब ४५ किलोमिटर सडक निकुञ्ज क्षेत्रभित्र रहेको छ ।
विसं २०४० वैशाख ५ गते घोषणा गरिएको ती भू–भागको सो आरक्षण क्षेत्रलाई विसं २०७४ वैशाख २५ गते राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको हो । सरकारले ती तीन जिल्लाका तत्कालिन निर्मलबस्ती, सुवर्णपुर, जिराभवानी, सिमरा, अमलेखगञ्ज, चुरियामाई, पदमपोखरी, हाँडिखोला र मनहरि गाउँको २८५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटी विसं २०६२ असार १३ गते मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । मध्यवर्ती क्षेत्रमा १३ उपभोक्ता समूहमा ८५ हजार बासिन्दा रहेका छन् ।
निकुञ्जभित्र ६० देखि ६५ जङ्गली हात्ती, तीनदेखि पाँच गैँडा, १०५ गौरी गाई रहेको निकुञ्जले जनाएको छ । त्यस्तै ३७ स्तनधारी, ४९० चराचुरुङ्गी, ३१ प्रकारका पुतली तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति छन् । निकुञ्जको सुरक्षा र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाको तारादल गणले यहाँ आधुनिक सूचना प्रविधिलाई अधिकतम उपयोगमा ल्याएको छ । उसले राजमार्गका आवश्यक स्थानमा सिसिटिभी जडान तथा अन्य स्थानमा ‘पोचर क्यामरा’ जडान गरी निगरानी बढाएको छ ।
निकुञ्जका अति महत्वपूर्ण १२ स्थानमा सुरक्षार्थ सेनाको पोष्ट छ । सेनाले दैनिक गस्ती ( पैदल, साइकल, हात्ती सवार तथा गाडी ) गरिरहेको छ । राजमार्गका आवश्यक स्थानमा सिसीटिभी जडान गरी सवारी साधन आवत जावत गर्दा वन्यजन्तुसँग सवारी साधन ठोक्किए तत्काल सुरक्षाकर्मी परिचालन गर्ने, चालकलाई गति कम गर्न सुझाव दिने, वन्यजन्तुको महत्व बारेमा सचेतना गराउने तर्फ नेपाली सेना लागेको सुरक्षार्थ खटेका सुरक्षाकर्मीले भने । वन्यजन्तुको वासस्थान, जैविक विविधता, प्रजाति, वनस्पति तथा सिमसारका दृष्टिकोणले यो निकुञ्ज विश्वकै उत्कृष्टमा पर्दछ । अरु निकुञ्जमा कमै देखिने जङ्गली कुकुर (ढोले) हुडार÷हड्डी बाघ, चौसिङ्गा, सालक, सुनगोहोरो, अजिङ्गर, राजधनेश यहाँको विशेषता मानिन्छ । पाटे बाघ, जङ्गली हात्ती, गैँडा तथा गौरी गाई यहाँका प्रमुख विशेषता हुन् । तर प्रचारप्रचारको अभावमा निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन ।
गत वर्ष आन्तरिक र बाह्य ५०५ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी नियन्त्रण र सुरक्षाको लागि स्मार्ट पेट्रोलिङ गर्ने कार्य पनि गरिँदैछ । निकुञ्जको अमलेखगञ्ज हात्तीसारमा रहेकी चित्र सेनकलीले विसं २०७४ माघ १३ गते पहिलो छावा (पोथी हात्ती) लाई जन्माएकी थिइ । यो निकुञ्जको हात्तीसारमा जीवित स्वस्थ बच्चा जन्मेको पहिलो पटक हो । भीमा एकादशीका दिन जन्मेकोले भीमा नामाकरण गरिएको सो छावाको जन्मोत्सव विशेष रुपले मनाउने तयारी निकुञ्जले गरेको जनाएको छ ।
निकुञ्ज भित्रका नदीजन्य पदार्थ उत्खनन् तथा सङ्कलन नरोकिएको प्रति निकुञ्जले चिन्ता व्यक्त गरेको छ । निकुञ्ज भित्रका नदी तथा खोलाबाट बालुवा, गिट्टी तथा ढुङ्गा जस्ता नदीजन्य सामग्रीको उत्खनन्, सङ्कलन तथा अनियमित ओसारपसार पूर्ण रुपमा रोक्न तथा नियन्त्रण गर्न पछिल्लो समय केही नीतिगत समस्या भएको छ । यसले वन्यजन्तु संरक्षण तथा सुरक्षामा चुनौती थपिएको निकुन्जको तर्क छ ।
वन्यजन्तु संरक्षण ऐन २०२९ ले निकुञ्ज क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् तथा सङ्कलन कार्य निषेध गरेको छ । यस निकुञ्ज भित्र दुधौली, मनहरा खोला तथा राप्ती नदी छन् । गत महिना मात्र ती नदीका बालुवा तथा गिट्टी ढुङ्गा ओसारपसार गरे वापत निकुञ्ज प्रशासनले १०० भन्दा बढी ट्रयाक्टरलाई कारवाही गरेको थियो । वन र वन्यजन्तु संरक्षण गर्दै वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्नु निकुञ्जको प्राथमिकता हो ।