विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने र अमर्यादित अभिव्यक्ति दिएको आरोपमा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई जेठ ४ गते राति करिब ८ बजे वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने प्रसाईं झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ निवासी तथा हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ मा बसोबास गर्दै आएका ५६ वर्षीय दुर्गा प्रसाद प्रसाईं रहेको प्रहरीले जनाएको छ।
यस्तो छ पक्राउ पर्नुको कारण
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रसाईंले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने अभिव्यक्ति दिएका थिए।
प्रहरीका अनुसार उनले विभिन्न जातजाति तथा सम्प्रदायबीचको सामाजिक सद्भावमा असर पुग्ने खालका अभिव्यक्ति दिएका थिए। साथै, नेपाल सरकारको काम कारबाहीबारे निराधार तथा अप्रमाणित विषय उठाउँदै सरकारप्रति घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने गरी अमर्यादित र अस्वस्थ आलोचनात्मक अभिव्यक्ति दिएको आरोप लगाइएको छ।
अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु
प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएपछि उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।