बलिउड फिल्म ‘ककटेल २’को नयाँ गीत ‘मशुका’ सार्वजनिक भएसँगै संगीतकार प्रितम फेरि कपिको आरोपमा तानिएका छन् । अभिनेता शाहिद कपूर र अभिनेत्री कृति सेननको रोमान्टिक केमेस्ट्री देखाइएको उक्त गीत सामाजिक सञ्जालमा चर्चामा रहेकै बेला इन्टरनेट प्रयोगकर्ताले यसको धुन सन् १९९३ को इटालियन गीतसँग मिलेको दाबी गरेका हुन् ।
रेडिटमा एक प्रयोगकर्ताले ‘मशुका’ र इटालियन गीत ‘से सो अरुबाते अ नोनना’को क्लिप सँगसँगै राख्दै दुवै गीतको धुन अत्यन्त मिल्दोजुल्दो रहेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले प्रितममाथि फेरि संगीत कपि गरेको आरोप लगाएका हुन् ।
एक प्रयोगकर्ताले “प्रितमले कपि गरेपछि पनि गीत फिक्का नै लाग्यो” भन्दै टिप्पणी गरेका छन् भने अर्काले “बलिउड फेरि कपिमा” भनेर प्रतिक्रिया दिएका छन् । केहीले “धुन उस्तै सुनिन्छ” र “प्रितमले कपि गर्न छोड्दैनन्” भन्दै व्यंग्यसमेत गरेका छन् ।
यद्यपि केही प्रयोगकर्ताले भने प्रितमको बचाउ गरेका छन् । उनीहरूले यो प्रत्यक्ष कपि नभई ‘स्याम्पलिङ’ हुन सक्ने बताएका छन् । एक प्रयोगकर्ताले “गीतको मूल बिट लिएर त्यसमा नयाँ वाद्यवादन र फरक शब्द राख्ने प्रक्रियालाई स्याम्पलिङ भनिन्छ, यो विश्व संगीत उद्योगमा सामान्य अभ्यास हो” भन्दै प्रितमको समर्थन गरेका छन् ।
मूल इटालियन गीत ‘से सो अरुबाते अ नोनना’ सन् १९९३ मा इटालियन जोडी बिबी एन्ड कोकोले सार्वजनिक गरेका थिए । हास्य शैलीको उक्त नेपोलिटन गीतले विश्वव्यापी सफलता नपाए पनि वर्षौंसम्म सीमित श्रोतामाझ लोकप्रियता कायम राखेको बताइन्छ ।
प्रितममाथि यसअघि पनि पटक–पटक संगीत कपिको आरोप लाग्दै आएको छ । सन् २०१७ मा फिल्म ‘ऐ दिल है मुश्किल’को गीत ‘बुल्लेया’को धुन विदेशी ब्यान्ड ‘पापा रोच’को संगीतसँग मिलेको आरोप लागेको थियो । सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा प्रितमले विगतमा आफूबाट “गल्तीहरू भएको” स्वीकार गर्दै त्यसपछि संगीतमा थप सावधानी अपनाएको बताएका थिए ।
‘मशुका’ गीतमा संगीत प्रितमको रहेको छ भने शब्द अमिताभ भट्टाचार्यले लेखेका हुन् । गीतलाई राघव चैतन्य र महमुद रुआ कायीले गाएका छन् । इटालियन भागको शब्द तथा प्रस्तुति महमुदले गरेका हुन् । गीतमा शाहिद र कृतिको पात्रबीच यात्राका क्रममा विकसित हुँदै गएको प्रेम सम्बन्ध देखाइएको छ ।
विवादका बीच पनि धेरै दर्शकले शाहिद र कृतिको केमेस्ट्रीको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा कतिपयले “दुवैको जोडी निकै आकर्षक देखिएको” भन्दै प्रतिक्रिया दिएका छन् ।
होमी अदजानियाको निर्देशनमा बनेको ‘ककटेल २’मा रश्मिका मन्दाना पनि मुख्य भूमिकामा छिन् । यो फिल्म सन् २०१२ मा प्रदर्शन भएको सफल फिल्म ‘ककटेल’को आध्यात्मिक सिक्वेल हो । पहिलो भागमा सैफ अली खान, दीपिका पादुकोण र डायना पेन्टिले अभिनय गरेका थिए । फिल्म आगामी जुन १९ मा प्रदर्शन हुने तय गरिएको छ ।