महिला सशक्तीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था युएन वुमनकी उपकार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिव न्यारद्जायी गुम्बोनज्वान्डा सप्ताहव्यापी नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ ।
नेपाल भ्रमणका क्रममा उहाँले नेपाल सरकारका उच्चस्तरीय पदाधिकारी, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि तथा विभिन्न साझेदार संस्थासँग भेटवार्ता गर्नुहुनेछ ।
यसैक्रममा गुम्बोनज्वान्डाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी तथा परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपालमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा समावेशी विकासका क्षेत्रमा भइरहेको प्रगति र विद्यमान चुनौतीबारे छलफल भएको युएन वुमन नेपालले जनाएको छ ।

उहाँले नेपालमा युएन वुमन तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायमार्फत सञ्चालन भइरहेका कार्यक्रम र प्राथमिकताबारे जानकारी दिँदै महिलाको आर्थिक सशक्तीकरण, महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्य, महिलाको नेतृत्व विकास, राजनीतिक सहभागिता अभिवृद्धि तथा शान्ति र सुरक्षामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो । साथै, लैङ्गिक समानतामैत्री नीति तथा कानुन निर्माण र कार्यान्वयनमा सहयोगलाई अझ सुदृढ बनाउँदै लैजाने धारणा पनि व्यक्त गर्नुभयो ।
भेटवार्तामा उहाँले विशेषगरी सीमान्तकृत महिला, किशोरी तथा बालबालिकाका लागि अवसर विस्तार, आर्थिक पहुँच, नेतृत्व विकास र सुरक्षासम्बन्धी पहललाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । आफू पनि फरक क्षमता भएको तथा सीमान्तकृत समुदायबाट आएको उदाहरण दिँदै उहाँले बालविवाह अन्त्य, लैङ्गिक हिंसा रोकथाम, महिला अधिकार प्रवर्द्धन र सामाजिक न्यायका विषयमा बहुपक्षीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल भ्रमणका क्रममा उहाँले संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवालासँग पनि भेटवार्ता गर्नुहुनेछ । युएन वुमन नेपालले सामाजिक सञ्जालमार्फत यो भ्रमणले नेपालमा लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।