वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३२ रामवनमा निर्माण गरिने प्राणी उद्यान सदर चिडियाखानाको शिलान्यास गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच वन तथा वातावरणमन्त्री प्रदिप यादवले सो चिडियाखानाको शिलान्यास गरेका हुन् ।
सो क्रममा मन्त्री प्रदीप यादवले वीरगन्जमा पर्यटकीय स्थल नभएको र अब निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले समृद्धि र विकास ल्याउने अपेक्षा रहेको बताए । पर्सामा आन्तरिक तथा बाह्य पर्यटक भित्त्र्याउनका लागि र यहाँको समृद्धिसहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरिएको उनको भनाइ छ । अब यहाँ पर्यटकको सङ्ख्या बढ्नुका साथै यहाँको विकासमा थप टेवा पुग्छ उनले सो क्रममा बताए ।
‘आफू मन्त्री बनेदेखि पर्सामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर त्यो सपना पूरा भएको मन्त्री यादवले दावी गरे । पर्सावासीको आयस्तर वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि वीरगंजमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षाैँदेखिको सपना साकार भयो उनले भने । यहाँ निर्माण गरिन लागिएको चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धि हुने पनि उनले मन्त्री यादवले बताए । मन्त्री यादवले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमति दिएपछि बिहिबार त्यसको विधिवत शिलान्यास गरिएको छ ।
चिडियाखानाको लागत १ अर्ब १ करोड ७ लाख रुपैयाँ लाग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताए । उनका अनुसार वीरगंज महानगरपालिकाको वडा नं. ३१ को सोलखपुर वडा नं. ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक प्रसस्तै आउने उनको तर्क छ । चिडियाखानाको क्षेत्रफलभित्र पर्ने तीन दशमलव एक हेक्टर क्षेत्रफलको अतिक्रमण हटाइ त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ ।
यस क्षेत्रमा बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल लगायतका वन्यजुन्तुका साथै अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने गरेकाले यस ठाउँमा चिडियाखाना बनाउन उपयुक्त हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक कार्कीको भनाइ छ ।