सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
उनका अनुसार बैठकले स्वच्छ ऊर्जा प्रवर्द्धनदेखि नियमावली स्वीकृति, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा र सचिव बढुवासम्मका पाँच महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जाको रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको छ । सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ समेत स्वीकृत गरेको छ ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
यसैगरी, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।