बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । घटस्थापनासँगै सुरु भएको नौ दिनसम्म देवीका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टा देवीको पूजा गर्न लागिएको हो ।
धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको पूजा आराधना गर्दा साहस, वीरता र निर्भयताका साथै सौम्यता तथा विनम्रताको विकास हुने विश्वास गरिन्छ । पार्वतीको सौन्दर्य स्वरूपका रूपमा चिनिने चन्द्रघण्टा देवीलाई दुष्ट प्रवृत्तिको नाश गरी सज्जनको रक्षा गर्ने देवीका रूपमा समेत पूजाआजा गरिन्छ ।
चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण रहने र उक्त मुकुट घण्टको आकारजस्तो देखिने भएकाले उहाँलाई चन्द्रघण्टा भनिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । श्रीमद्देवीभागवतलगायतका ग्रन्थमा देवीले आसुरी प्रवृत्तिको अन्त्य गरी धर्मको रक्षा गर्ने उल्लेख गरिएको छ ।
नवरात्रको अवसरमा आज देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको चहलपहल बढेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ ।
त्यस्तै, उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना र दाङको अम्बिकेश्वरीलगायतका शक्तिपीठमा पनि भक्तजनले पूजा आराधना गरिरहेका छन् ।
नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ । नवरात्रलाई शक्ति उपासनाको विशेष पर्वका रूपमा मनाइने भएकाले यस अवधिमा देवीको आराधना, व्रत तथा धार्मिक अनुष्ठान गर्ने चलन छ ।