गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही गरिने बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने कुनै पनि व्यक्ति वा पदाधिकारीले उन्मुक्ति नपाउने बताएका हुन्।
उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गरेका छन्।
गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।
उनका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्छ।
संवेदनशील सूचना चुहावटको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविरुद्ध कार्य गरेको तथा संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।
गृहमन्त्री गुरुङले राज्यको गोपनीयता र संवेदनशील सूचनाको संरक्षणमा जिम्मेवार पदमा रहेका सबैलाई गम्भीर बन्नसमेत सचेत गराएका छन्।