आस्था रहोस्, करुणा पनि जीवित रहोस्
बली प्रथा हाम्रो समाजको धार्मिक आस्था, परम्परा र संस्कृतिसँग जोडिएको विषय हो । तर, समयसँगै हाम्रो सोच, चेतना र मानवीय मूल्यहरू पनि परिष्कृत हुँदै जानुपर्छ । धर्म र संस्कृतिको मूल उद्देश्य शान्ति, सद्भाव, प्रेम र करुणाको प्रवद्र्धन गर्नु हो, हिंसा र निर्दोष प्राणीको पीडा होइन । धार्मिक आस्थाको सम्मान गर्दै फूल, फलफूल, नरिवल तथा अन्य अहिंसात्मक माध्यमबाट पूजाआराधना गर्न सकिन्छ । साँचो धर्म हिंसामा होइन, दया, प्रेम र मानवतामा प्रतिबिम्बित हुन्छ । संस्कृतिको संरक्षण गर्नु आवश्यक छ, तर त्यसका हरेक अभ्यासलाई विवेक र मानवीय संवेदनाका आधारमा पुनर्विचार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । नयाँ पुस्तालाई अन्धविश्वास होइन, वैज्ञानिक सोच, नैतिकता, सहिष्णुता र करुणाको शिक्षा दिनु आजको आवश्यकता हो । परम्पराको सम्मान गरौँ, विवेकलाई आत्मसात् गरौँ र अहिंसालाई जीवनको आधार बनाऔँ । आस्था रहोस्, संस्कृति रहोस्, तर निर्दोष प्राणीप्रतिको करुणा र जीवनप्रतिको सम्मान पनि सधैँ जीवित रहोस् ।
नरिवल वा फलफूल अर्पण गर्नु राम्रो
हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा महान् पर्व बडादशैँ हो । दसैँमा सम्पूर्ण परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई अत्यन्त हर्षोल्लास र रमाइलोका साथ खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ । यस पर्वका अवसरमा कतिपय शक्तिपीठ तथा घरहरूमा बलि दिने परम्परा रहेको पाइन्छ । तर, मेरो व्यक्तिगत विचारमा यसरी निर्दोष पशुहरूको बलि नदिनु नै उत्तम हुन्छ, किनभने कुनै पनि प्राणीको ज्यान लिनु वा हिंसा गर्नु कदापि उचित मानिँदैन । पशु बलिको साटो नरिवल वा अन्य पवित्र फलफूल अर्पण गर्नु झनै सात्विक, फलदायी र राम्रो हुन्छ । धार्मिक दृष्टिकोणले पनि बलि दिनैपर्छ भन्ने कुनै अनिवार्य नियम छैन । हाम्रो परिवारमा अहिलेसम्म पशु बलि दिने परम्परा छैन र हामीले कहिल्यै बलि दिएका पनि छैनौँ ।

अहिंसा नै धर्मको मर्म हो
बलिप्रथालाई अगाध आस्था र परम्पराका रूपमा निरन्तरता दिने पक्ष र पशु अधिकार एवं अहिंसाको पक्षपोषण गर्दै यसको विरोध गर्ने पक्ष दुवैका आआफ्ना दह्रा तर्क र मान्यताहरू छन् । हरेक धर्म र संस्कृतिको मूल मर्म ‘अहिंसा, दया र करुणा’ नै हो भन्ने शाश्वत सत्यलाई आत्मसात् गर्नुपर्छ । कसैको धार्मिक आस्था र भावनामा चोट नपु¥याई क्रमिक रूपमा सात्विक पूजा–आराधना र प्रतीकात्मक बलीतर्फ उन्मुख हुनु नै आधुनिक, चेतनामूलक र सन्तुलित दृष्टिकोण हुन सक्छ ।

यो परम्पराको सम्मान गर्दछौँ
हरेक परम्पराको पछाडि एउटा गहिरो आध्यात्मिक अर्थ हुन्छ । हाम्रो लागि, बलि प्रथा केवल एउटा कर्मकाण्ड मात्र होइन, यो ईश्वरप्रति समर्पण, कृतज्ञता र अहंकार त्यागको प्रतीक हो । यो शताब्दीयौँ पुरानो अभ्यास हो, जसले हाम्रो समुदायलाई एकसाथ ल्याउँछ । हाम्रो आस्थालाई बलियो बनाउँछ र हाम्रो सांस्कृतिक सम्पदालाई जीवित राख्छ । हामी यसलाई विश्वास र देवीसँगको हाम्रो सम्बन्धको अभिव्यक्तिको रूपमा हेर्छौँ । हामी पूर्ण आस्था र सद्भावका साथ यो परम्पराको सम्मान गर्दछौँ ।

परम्परा र आस्थाको संगम
नेपालीहरूको महान् राष्ट्रिय पर्व बडादशैँको आगमनसँगै पशु बलिप्रथाका विषयमा विभिन्न दृष्टिकोणबाट व्यापक चर्चा–परिचर्चा हुने गर्दछ । ऐतिहासिक तथ्यहरूलाई नियाल्दा १२ हजार वर्षअघिदेखि नै मानव सभ्यता र धार्मिक अनुष्ठानसँग जोडिँदै आएको पाइन्छ । विशेष गरी धार्मिक, सांस्कृतिक तथा तान्त्रिक परम्परा अनुसार महाकाली, श्री दुर्गा भवानी र कुलदेवताहरूमा बलि अर्पण गर्ने सनातन परम्परा रहँदै आएको छ । इष्टदेवता वा देवीदेवतासमक्ष गरिएको भाकल पूरा भएपछि श्रद्धालुहरूले कृतज्ञता स्वरूप बलि चढाउने गर्दछन् । प्रत्येक पाँच वर्षमा आयोजना हुने विश्वप्रसिद्ध श्री गढीमाई मेलाको अवलोकनका क्रममा मैले भक्तजनहरूसँग बलि किन चढाउनुहुन्छ ? भनी जिज्ञासा राख्दा माईसँग जे चितायो, त्यो मनोकामना पूरा भएकाले नै श्रद्धापूर्वक बलि दिएको बताउने गरेका छन् । गढीमाई परिसरमा बलि दिइएका बोकाहरूको रगत यत्रतत्र भए पनि, लामो समयसम्म त्यहाँ एउटा पनि झिँगा नभन्किनु आफैँमा एउटा अलौकिक र आश्चर्यजनक हो । विशेष गरी नेवार समुदायमा बलिप्रथालाई तन्त्र–साधना, शक्ति उपासना र मौलिक संस्कारको अभिन्न अङ्गका रूपमा स्वीकार गरिएको छ । हाम्रा परम्परागत चाडपर्व तथा जात्राहरूमा देवीदेवतालाई बलि दिने कार्य ऐतिहासिक संस्कृति नै हो । दुर्गा भवानी र नवदुर्गालाई विधिपूर्वक राँगा, हाँस र बोकाको बलि अर्पण गरिन्छ । गुठी पूजा तथा कुलदेवताको अनुष्ठानमा पनि शास्त्रीय विधिअनुसार नै बलि दिने चलन छ । भाद्र शुक्ल चतुर्थीका दिन सिंहवाहन रूप धारण गरी प्रकट हुनुभएका श्री गणेश भगवान्ले दानव, दैत्य र राक्षसहरूको संहार गर्नुभएको पौराणिक मान्यता छ । त्यसैले उहाँको उग्र रूपको पूजाआराधना गर्दै नेवार समुदायले बलि चढाउने गर्दछन् ।