बडादशैँअन्तर्गत आज नवरात्रको चौथो दिन, देशभर माता कुष्माण्डाको पूजा आराधना गरिँदैछ।
हिन्दू धार्मिक परम्पराअनुसार नवरात्रको चौथो दिन नवदुर्गामध्ये चौथो स्वरूपकी देवी माता कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने चलन छ। भक्तजनहरूले घरघरमा स्थापना गरिएको दशैँघर तथा विभिन्न शक्तिपीठ र मन्दिरमा पुगेर श्रद्धापूर्वक पूजाआजा गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार माता कुष्माण्डाको पूजा आराधना गर्नाले दुःख, कष्ट र नकारात्मक ऊर्जा हट्ने तथा सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त हुने विश्वास गरिन्छ।
नवरात्रको पहिलो दिन माता शैलपुत्री, दोस्रो दिन माता ब्रह्मचारिणी र तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गरिन्छ। त्यसैगरी, चौथो दिन माता कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), देवी भागवतलगायत धार्मिक ग्रन्थको पाठ तथा देवीको आराधना गर्ने चलन छ। बडादशैँको अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको चहलपहल बढेको छ।