वीरगंज । सवारी चालक अनुमति पत्र भन्ने बितिकै हाम्रो दिमागमा लाइसेन्स लिनेका लागि दिनुपर्ने ट्रायलदेखी विभिन्न चरणमा भोग्नुपर्ने अनगिन्त झनझटहरु आउँछ । समान्य व्यक्तिले लाइसेन्स लिन खेप्नु पर्ने हैरानीको हिसाब किताब नै छै्न् । लाइसेन्समा बिचौलिया र कर्मचारीको सेटिङ्गमा ट्रायल नै नदिई लाइसेन्स वितरणको गुनासोपछि स्मार्ट लाइसेन्स वितरण गर्नु पर्ने र सम्पूर्ण डाटा डिजिटल गर्ने भन्दै सफ्टवेयर भित्रियाईयो । बिडम्बना चोरका एकसय दाउ भने जस्तो कर्मचारीहरुले सफ्टवेयरमा कृते गरेरै छाडेका छन् ।
यातायात कार्यालय वीरगंजबाट मध्यरातमा यातायात व्यवस्था कार्यालयको सफ्टवेयर नै नियन्त्रणमा लिएर ट्रायल परीक्षामा फेल भएका ६२ जनालाई मध्यरातमा पास गराईएकालाई यातायात व्यवस्था कार्यालयले खारिज गरेको छ । हेवी सवारी साधनको परीक्षामा यातायात कार्यालय व्यवस्था वीरगंजमा फेल भएका ६२ जनालाई यातायात कार्यालय जनकपुरको सर्भरबाट पास गरिएको रहस्य बाहिरिएको थियो ।
यातायात कार्यालय व्यवस्था वीरगंजमा ‘जी’ समूह अर्थात हेवी सवारी चालक अनुमति पत्रको लागि फारम भरेर प्रयोगात्मक ट्रायल परीक्षामा फेल भएका ६२ जनालाई जनकपुर कार्यालयका पूर्वकर्मचारीको युजर आईडीबाट पास गरिएको खुलेको थियो । यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्ष अघि निलम्बन भएका कर्मचारीको युजर खाता प्रयोग गरेर अबैध तरिकाले लाइसेन्सका लागि पास देखाईएको थियो ।
समान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भलको इडिअल फेयरेल सफ्टवेयरमा रिजल्ट अपडेट गरिएको थियो । भौतिक पूर्वाधार कार्यालयका सचिव किरण मिश्रले सफ्टवेयर ह्याक गरि रिजल्ट अपडेट गरिएको कुरा सार्वजनिक भएको बताए । जनकपुरबाट नै सफ्टवेयर हाईज्याक गरेर त्यहाँ इन्ट्री छिराईएकाले सफ्टवेयरमा पनि केही कमीकमजोरी छ कि भने बारेमा छानबिन भईरहेको सचिव मिश्रको तर्क छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय प्रमुख बिरेन्द्र साहले पनि यसमा सफ्टवेयरको समस्या हुन सक्ने बताए । कहाँबाट के भएको हो भने वास्तविक कुरा हामीले भन्न नसकिने प्रमुख साहको भनाई छ । वीरगंज कार्यालयले प्रयोगात्मक परिक्षामा फेल भएकाहरुको अलग्गै लिस्ट बनाएको थियो । के कसरी पास भए यस बारेमा जनकपुरको लगइनबाट पास भएको पाइएकाले आफुलाई यसबारे खासै थाह नभएको यातायात व्यवस्था कार्यालय वीरगंजका निम्ति प्रमुख कमल गौतमले बताए ।
यातायातको सर्भरमा २०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा ४२ जना, जेठ ३० गते १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते १ बजेर २ मिनेटमा ५ जना र २०७८ माघ १० गते साँझ ७ः१५ बजे १ जनालाई पास गराएर इडिअल फेयरलमा इन्ट्री गराएको देखिन्छ ।
जनकपुर यातायातमा लामो समयसम्म काम गर्दै आएका २०७५ सालमा निलम्बन भएका मुकेश कुमार बर्माको युजर आईडि एम.के. बर्माबाट यातायातको सर्भरमा अपडेट गरिएको छ । जनकपुरमा यसअघि एक हजारबढी फेल भएकालाई पास गराएका सामाचार बाहिरिएका थिए ।
हालका लागि अनुसन्धान भईरहदाँ गलत प्रकृयाबाट रातारात पास भएका ६२ जनाको लाइसेन्स खारिज गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । यातायात कार्यालयका अनुसार गलत प्रकृयाबाट पास गराउनेलाई कुनै पनि हालतमा माफि दिन नसकिने सचिव मिश्रको तर्क छ ।