नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताएको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलापछि पारित समसामयिक प्रस्ताव सार्वजनिक गर्दै एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय सरोकार र समस्याका विषय स्पष्ट रूपमा उठाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
एमालेका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सार्वजनिक गरेको प्रस्तावमा नेपालले भारतसँग आफ्ना हित र सरोकारका विषय खुला रूपमा राख्नुपर्ने उल्लेख छ ।
सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, विषम वाणिज्य प्रबन्ध, बढ्दो व्यापार घाटा, हवाई प्रवेश बिन्दुमा भइरहेको असहयोग तथा दशकौँदेखि रोकिएका परियोजनाको कार्यान्वयनलाई एमालेले प्रमुख मुद्दाका रूपमा अघि सारेको छ ।
यी विषयलाई इतिहासको बोझ ठानेर पन्छाउनुको सट्टा समाधानका लागि स्पष्ट समयतालिकासहितको मार्गचित्र तय गर्नुपर्ने एमालेको भनाइ छ ।
‘नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्छ,’ प्रस्तावमा भनिएको छ ।
भदौको घटनापछि राष्ट्रिय हितविरुद्धका गतिविधि बढेको एमालेको आरोप
एमालेको राष्ट्रिय भेलाले जेनजी आन्दोलनपछिका घटनाक्रमले नेपालको राष्ट्रिय हितविरुद्धका गतिविधि बढाएको आरोप लगाएको छ ।
भेलाबाट पारित प्रस्तावमा छिमेकी मित्रराष्ट्रका संवेदनशीलतामाथि निरन्तर आँच पुर्याउने काम भइरहेको उल्लेख छ । प्रधानमन्त्रीले संसद्को मञ्चबाट दिएको सीमा सम्बन्धी अभिव्यक्ति अझै नसच्याइएको भन्दै एमालेले त्यसलाई गैरजिम्मेवार र आत्मघाती भनेको छ ।
त्यस्तै, छिमेकी मुलुकसँग इतिहासदेखि थाँती रहेका मुद्दालाई गम्भीर कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा सरकारले ‘इतिहासको भारी नबोक्ने’ अभिव्यक्ति दिइरहेको भन्दै एमालेले असन्तुष्टि जनाएको छ ।
दक्षिण एसियाली मुनरो डक्ट्रिनलाई नेपालले स्वीकार गर्नुपर्ने मान्यताका पक्षधर केही मन्त्रीहरूले राष्ट्रवादको अपव्याख्या गरिरहेको एमालेको आरोप छ ।
यसैगरी, सरकारका निषेधकारी तथा मुठभेड निम्त्याउने गतिविधि, साम्प्रदायिक विद्वेष, बढ्दो आर्थिक सङ्कट, सुरक्षा निकायमा हस्तक्षेप र भूराजनीतिक चलखेलले आन्तरिक सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेको एमालेले निष्कर्ष निकालेको छ ।
यस्ता गतिविधिले राष्ट्रिय सुरक्षा, प्राकृतिक स्रोतको संरक्षण र राष्ट्रिय स्वाभिमानको विषय थप संवेदनशील बनेको तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धूमिल र अविश्वसनीय बन्दै गएको एमालेको ठहर छ ।