नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेशसँग लर्ड्समा प्रतिस्पर्धा गर्नेछ ।
उक्त खेल लर्ड्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलकै दिन आयोजना हुनेछ । यससँगै लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकै दिन आयोजना हुन लागेको यो पहिलो अवसर बन्नेछ ।
बंगलादेशले लर्ड्समा पहिलोपटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले लर्ड्समा खेलेको थियो । नेपालले भने लर्ड्समा दोस्रोपटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग उक्त मैदानमा प्रतिस्पर्धा गरेको थियो ।
एमसीसीको आयोजनामा हुने भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि विभिन्न फर्म्याटका खेल खेल्नेछ । ती खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त हुनेछन् ।
नेपालको इंग्ल्यान्ड भ्रमणको खेल तालिका
|
मिति
|
प्रतिद्वन्द्वी
|
खेलको प्रकार
|
स्थान
|
|
जुन १, २०२७
|
स्कटल्यान्ड
|
५० ओभर
|
वर्म्स्ली
|
|
जुन ३, २०२७
|
बंगलादेश
|
टी–२० अन्तर्राष्ट्रिय
|
लर्ड्स
|
|
जुन ६, २०२७
|
आयरल्यान्ड
|
५० ओभर
|
वर्म्स्ली
|
|
जुन ९, २०२७
|
आयरल्यान्ड
|
टी–२०
|
वर्म्स्ली
|
|
जुन ११, २०२७
|
आयरल्यान्ड
|
टी–२०
|
बेकनहम
|
|
जुन १२, २०२७
|
आयरल्यान्ड
|
टी–२०
|
बेकनहम
|
लर्ड्समा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली तथा बंगलादेशी दर्शकलाई लक्षित गर्दै टेलिभिजन प्रसारणको समयअनुकूल तय गरिएको एमसीसीले जनाएको छ ।
त्यस्तै, जुन ३ मै हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु तालिका सार्वजनिक भएपछि निर्धारण गरिनेछ ।