नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् ।
काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले उक्त घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए ।
उनले भदौ २३–२४ को घटनालाई एमालेले तत्कालीन अवस्थामा पनि स्वीकार नगरेको र भविष्यमा समेत स्वीकार नगर्ने स्पष्ट पारे ।
‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो । यो लोकतन्त्रभित्रको स्वीकार्य कुरा होइन,’ ओलीले भने, ‘लोकतान्त्रिक प्रणालीभित्र मान्न सकिने घटनाक्रम होइन । यो बिल्कुल अस्वीकार्य घटना हो ।’
दुई प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमालेबीचको सहकार्य सामान्य राजनीतिक परिस्थितिमा नभई मुलुकको आवश्यकता र तत्कालीन अवस्थालाई मध्यनजर गरेर भएको ओलीले बताए ।
देशमा स्थिरता र स्थायित्व कायम गर्ने तथा राजनीतिक अस्थिरताको सम्भावना रोक्ने उद्देश्यले दुई ठूला दल मिलेर सरकार गठन गरिएको उनको भनाइ थियो ।
ओलीले कांग्रेस र एमालेबीचको सहकार्यबाट निर्वाचनसम्म सरकार ढाल्न नसकिने अवस्था बन्ने देखेपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिएको दाबी गरे ।
‘नेपालमा स्थिरता हुने भयो, स्थायित्व हुने भयो, अब निर्वाचनसम्म सरकार ढाल्न नसकिने भयो भन्ने भएपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिए,’ उनले भने ।
दुई ठूला दल मिलेर निर्वाचनमा गए लोकतान्त्रिक प्रणाली र संविधानलाई कमजोर पार्न नसकिने देखेपछि संकीर्ण स्वार्थ बोकेका शक्तिहरू सक्रिय भएको र त्यसमा भूराजनीतिक प्रभावसमेत बढेको ओलीको आरोप थियो ।