पाठकका हातमा पुगेको केही वर्ष वित्न नपाउँदै विश्वव्यापी कोरोना संक्रमणको महामारीले यो पत्रिका प्रकाशनमा पनि समस्या उब्जाएको हो । पत्रिकाको संचालन तीब्र भएकै समयमा त्यो गतिलाई धीमे बनाउन मध्य नेपाल मिडिया प्रा.लि. पनि वाध्य भयो ।
कोरोनाको प्रभाव कम रहेका र समृद्ध मुलुकलाई पनि निकै प्रभावमा पारेको कोेरोना कहरले संसारका धेरै देशको अर्थतन्त्रलाई थचक्क बनायो । त्यसै क्रममा नेपाल जस्तो समृद्धिको सपना मात्र देख्न थालेको मुलुकको संचारगृह संचालन गर्दै गरेका पत्रकार महिलाहरुलाई त्यसको प्रभावले नछुने कुरै भएन ।
अझ कोरोना भाइरस उत्पति भएको देश चीनको छिमेकी राष्ट्र नेपाल हुनु र कोरोनाको उच्च संक्रमण फैलिएको अर्को छिमेकी मुलुक भारतसँगको पनि बाक्लो आवत–जावत हुने देशको नाकामा नै जन्मिएको यो पत्रिकाले त्यसको जोखिम मोल्न परेकै हो । तर त्यो जोखिमलाई कम गर्न जिल्ला र देशमा नै लगाइएको निशेधाज्ञा तथा लकडाउनले आर्थिक क्षेत्र नराम्ररी प्रभावित हुँदा पनि यो संचार संस्था चलाइएको क्षण फलामका च्यूरा चबाउनु सरह भएको अनुभव पनि संहालेका छौं । तथापि पत्रकार महिलाद्वारा संचालित मध्य तराईको एक मात्र रंगीन पत्रिका मध्य नेपाल सन्देश कोमाबाट तानेर यहाँसम्म ल्याइएको छ ।
विशम् परिस्थितिमा पनि निरन्तर साथमा रहने यो पत्रिकासँग आबद्ध सबै टिम धन्यवादका पात्र हुनु हुन्छ । मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश पत्रिका खस्किए पनि बन्द नै गर्नु पर्ने दिनबाट माथि उठाउन तपाईहरुले गर्नु भएको योगदान कम छैन । जसको कारण अहिले सातौं बर्ष प्रवेश गरेको आफ्नै खबर लिएर समाज सामु उभिन सकेका छौं ।
यो निकै गौरवान्भित क्षण हो । यसो भनिरहाँदा तपाईंहरुको सामु हाम्रो यो उपस्थितिको अझ महत्वपूर्ण अर्को पक्ष हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र सहयोगी र समाजलाई हार्दिक आभार भन्न कत्ति पनि कन्जुस्याई गर्दैनौं । ठिड्डो उभिन थालेको एउटा संचार गृहको ढोका बन्द हुनबाट जोगाउने तपाईहरु हाम्रो यात्राको अर्को महत्वपूर्ण खम्बा हो ।
खोजमुलक समाचार लेख रचना तथा हाम्रा उत्पादित समाचार रोकिनु हुन्न भन्ने हाम्रा पाठक विज्ञापनदाता सबैको दर्विलो आडले अहिले यहाँहरु माझ सातौं बर्ष प्रवेशको खुसी लिएर आउँदा अझ विगतका सबै दुःख र संघर्ष भुलेको महसुस गरिरहेका छौं ।
समाजमा लुकेका तमाम घटना र बिषयबस्तु संचार माध्यमकै कारण उधिनेर बाहिर ल्याएको तथ्य स्मरण गर्दै महिला सशतिmकरण र समाज रुपान्तरणको ध्येयमा लागेका हामी किञ्चित विचलन भएका छैनौं । सत्ताको दमनले राजनीतिकर्मी भाग्दै गरेको अवस्थामा सञ्चारकर्मी र सञ्चार क्षेत्रले नै त्यसको प्रतिरोध काँधमा बोकी गलत कार्यको भण्डाफोर गरेको अग्रजहरुको विरासतमा संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा तय भइसकेको परिवेशमा अझै सञ्चारगृहले गर्न धेरै बाँकी काम छन् । यो कुरा हामीले हृदयंगम गरेकै छौं । प्रष्ट सोच विचार र दीर्घकालिन लक्ष्य सहित सुरुवात गरिएको प्रकाशन छैठौं बर्ष पूरा गरी सातौं वर्ष प्रवेश गर्दै गर्दा अझ हाम्रो काँधमा जिम्मेवारी बढेको ठानेका छौं ।
चौथो लहरको पनि कोरोना कहर आइरहुँदा पुनः लक्ष्यमा पुग्न विचलित नहुने हाम्रो आ“टलाई आम पाठक, विज्ञापनदाता, शुभचिन्तक, सल्लाहकार र सहयोगी सबैको साथ भने अपरिहार्य रहन्छ नै । समाजसंग हाम्रो त्यो अपेक्षा जोडिंदा तपाईंहरुको साथ सहयोग विना हाम्रो आगामी यात्रा पनि असहज हुने हाम्रो ठम्याई छ । यसमा तपाईं हामी विचलित हुने छुट पनि छैन । कारण, समाज र मुलुकको समृद्धिको प्रमुख एजेण्डा गणतन्त्र आएपछि पनि अझै जिवित छ ।