वीरगंज । साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति र विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको संयुक्त आयोजनामा “विश्व चौतारी सङ्गम” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । स्वदेश तथा विदेशमा नेपाली भाषा तथा साहित्यको संरक्षण तथा प्रवर्द्धनका निमित्त अहोरात्र लागिपरेका उक्त दुई संस्थाको आयोजनामा शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व एवं प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्वकुलपति आदरणीय वैरागी काइँलालाई “विशिष्ट साधक’’ सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमका साहित्यिक चौतारी नेपाल केन्द्रीय अध्यक्ष गीता भण्डारीको कविता सङ्ग्रह “एक्काइसौँ शताब्दीमा हामी“ विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको “हामी आयामका भुइँमान्छेहरू” र साहित्य संसार गरी तीन पुस्तकको लोकार्पण भएको थियो ।
कार्यक्रममा प्रा डा. बेन्जु शर्माबाट सुरु भएको सिर्जना वाचनमा सरू बस्नेत, अर्जुन न्यौपाने, डा. नाज सिंह, शैलेन्द्र साकार, माया उपाध्याय, मणिराज सिंह, माधव बिडारी, कमला भण्डारी, श्यामकुमार श्रेष्ठ, विन्दा पराजुली, पिङ्की बोहरा, मनोज परियार, कुशुम प्यारी, राधिका कल्पित लगायतले सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा नेपाली साहित्यका शिखरपुरुष पूर्वकुलपति आयामेली कवि वैरागी काइँला, पूर्व महामहिम राजदूत श्री भीम उदास, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव तथा दर्शन विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय, नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल, प्राज्ञ डा. बेन्जु शर्मा, प्राज्ञ कविता आले, डा. ज्ञानु अधिकारी, डा. घनश्याम परिश्रमी, डा. रामप्रसाद ज्ञवाली, डा. गार्गी शर्मा, डा. नवराज लम्साल, शैलेन्द्र साकार, प्रा. प्रभा आचार्य, मोमिला जोशी, गीता खत्री, लगायत धेरै विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य सन्दीप सङ्ग्रौला दिलदुखीले गरेका थिए भने साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले धन्यवाद व्यक्त गरेकी थिईन् ।