सेयर बजार परिसूचक नेप्सेमा मंगलबार पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अंकले बढेको नेप्से मंगलबार थप ४.१२ अंकले बढेर २,५९९ अंकमा कायम भएको हो ।
बजारमा कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
मंगलबार कुल १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ । जीवन बीमा समूहको सूचक १.७७ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि ०.६९ प्रतिशतले बढ्दै पछिल्लो ६ महिनाकै उच्च विन्दुमा पुगेको छ ।
त्यस्तै, विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले बढेका छन् ।
यता फाइनान्स समूह ०.३१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५८ प्रतिशत, जलविद्युत् समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशत, अन्य समूह ०.५२ प्रतिशत र व्यापार समूह ०.४० प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १२.४४ प्रतिशतले बढेको छ । ओरियन्टल होटल्सको ३.७४ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७ प्रतिशत, भगवती हाइड्रोपावरको ३.१३ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यसैगरी, स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्तको १२.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५ प्रतिशत र सिटी होटलको ३.६५ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अगाडि रहेका छन् ।