सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंकले बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंकले बढेको नेप्से आजको सामान्य वृद्धिसँगै २ हजार ५९५ अंकमा कायम भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १०५ वटाको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ । त्यस्तै, ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । बैंकिङ समूह १.०१ प्रतिशतले बढ्दा व्यापार समूह १.०२ प्रतिशतले उकालो लागेको छ । जीवन बीमा ०.०५, विकास बैंक ०.५३ र फाइनान्स समूह ०.२१ प्रतिशतले बढेका छन् ।
यता होटल तथा पर्यटन समूह ०.८७ प्रतिशत, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ र अन्य समूह ०.४२ प्रतिशतले घटेका छन् ।
धौलागिरि लघुवित्तको मूल्यमा १५ प्रतिशतको वृद्धि
सोमबार धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । स्नो रिभर्सको १३.९२ प्रतिशत, बुंगल हाइड्रोपावरको ४.७५ प्रतिशत र सुपर माई हाइड्रोपावरको ३.९८ प्रतिशतले मूल्य बढेको छ ।
त्यस्तै, रिजलाइन इनर्जीको सेयर मूल्य ६.२९ प्रतिशतले घटेको छ । टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२ प्रतिशत, होटल फरेस्ट इनको ४.०१ प्रतिशत र नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन डिस्टिलरी अगाडि रहेका छन् ।