प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहले तालिमका क्रममा सिकेका ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए । उनले पेशागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेशागत सफलताको महत्त्वपूर्ण आधार हो । नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए ।
प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष र भेदभावरहित ढंगले काम गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो । उनले प्रहरी अधिकारीहरूलाई आफ्नो भूमिका र संगठनको उद्देश्य बुझेर नागरिकको भावना र अपेक्षाअनुसार सेवा प्रवाह गर्न आग्रह गरे ।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुपर्छ,’ उनले भने, ‘आफ्नो भूमिका र संस्थाको गतिलाई बुझेर नागरिकको भावनाअनुरूप काम गर्नुपर्छ ।’
प्रधानमन्त्री शाहले प्रहरी संगठनभित्र पूर्ण प्रतिबद्धताका साथ सहकार्य र समन्वय गर्न पनि निर्देशन दिए । सूचना प्रविधिको प्रभावकारी प्रयोगबाट प्रहरीको कामलाई छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने उल्लेख गर्दै उनले प्रविधिको सदुपयोगले अपराध अनुसन्धानलाई समयमै सम्पन्न गर्न तथा आपराधिक घटनालाई नियन्त्रणमा लिन सहयोग पुग्ने बताए ।
उनले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी बनाउन सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको धारणा राखे । यसका लागि प्रहरी संगठनको नेतृत्व र प्रभावकारी प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
सरकारले प्रहरीलाई अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन तथा प्रहरी संगठनप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले बताए ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए । प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने तथा तालिम अवधिभर सहयोग गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे ।