एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानुअघि गरेको वाचा पूरा गर्न सफल भएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले मलेसियामा पुगेर टोलीलाई समर्थन गर्ने नेपाली समर्थक तथा देशभरबाट साथ दिने सबैलाई धन्यवाद दिए । उनले मलेसिया जानुअघि ट्रफी लिएर नेपाल फर्किने वाचा गरेको र त्यो पूरा गर्न सफल भएको बताए ।
सन्दीपले एसीसी प्रिमियर कपको उपाधि बाढीबाट पीडित सम्पूर्ण नेपालीप्रति समर्पित गरेका छन् । देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटमार्फत नेपालीलाई केही खुसी दिन सकेको उनले बताए ।
प्रतियोगितामा हङकङसँगको हारलाई अपवादका रूपमा लिँदै उनले नेपाली टोलीले समग्रमा उत्कृष्ट प्रदर्शन गरेको बताए । ओमानविरुद्धको सेमिफाइनलमा १४७ रनको लक्ष्य जोगाउँदै जित निकाल्नु टोलीको सामूहिक प्रयासको परिणाम भएको उनको भनाइ छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीपले व्यक्तिगत पुरस्कारभन्दा टोलीको सफलता महत्वपूर्ण रहेको बताए । उनले दीपेन्द्रसिंह ऐरी, बशिर अहमद, गुल्शन झा, करण केसी, आसिफ शेख र रोहित पौडेललगायत सबै खेलाडीको योगदानको प्रशंसा गरे ।
सन्दीपले प्रशिक्षक, फिजियो, ट्रेनर, विश्लेषक, व्यवस्थापक तथा सम्पूर्ण सपोर्ट स्टाफलाई सफलताका ‘पर्दापछाडिका नायक’ का रूपमा उल्लेख गरे ।
उनका अनुसार टोलीले अब एक–दुई दिन आराम गरेपछि पुनः तयारी थाल्नेछ । एसिया कपसँगै एसियाली खेलकुद नेपाली टोलीको प्रमुख लक्ष्य रहेको उनले बताए ।
एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको छ ।