ममता विद्या मन्दिर (एमभीएम) कलेज, वीरगञ्जले बीबीए तथा एमबीए कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत तथा नयाँ शैक्षिक यात्राको सुरुवातलाई स्मरणीय बनाउने उद्देश्यले ‘फ्रेसर्स एन्ड वेलकम कार्यक्रम’ सम्पन्न गरेको छ।
वीरगञ्जस्थित टाउन हलमा आयोजित कार्यक्रममा बीबीए तथा एमबीए ब्याच २०८३ का नयाँ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई कलेज परिवारमा औपचारिक रूपमा स्वागत गर्दै कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराइएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। नयाँ विद्यार्थीहरूबीच आपसी परिचय, आत्मीयता तथा सहकार्यको भावना विकास गराउने उद्देश्यले विभिन्न गतिविधिसमेत प्रस्तुत गरिएको थियो।
कलेजका म्यानेजिङ डाइरेक्टर विश्वास प्रतापले नयाँ विद्यार्थीहरूलाई कलेज परिवारसँग घुलमिल गराउँदै उनीहरूको शैक्षिक यात्रालाई सहज र उत्साहपूर्ण बनाउन कार्यक्रम आयोजना गरिएको बताए। उनले अध्ययनसँगै सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सहभागितालाई प्रोत्साहन गर्दै व्यक्तित्व विकासमा कलेजले जोड दिँदै आएको बताए।
कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सहपाठी, शिक्षक–शिक्षिका तथा कलेज परिवारका अन्य सदस्यसँग परिचित हुने अवसर प्राप्त गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास तथा सकारात्मक ऊर्जा थपेको कलेजले जनाएको छ।
एमभीएम कलेजका संस्थापक शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय न्यायाधीश नवल किशोर यादव तथा विशिष्ट अतिथिका रूपमा कलेजकी संस्थापिका ममता गुप्ताको उपस्थिति रहेको थियो।
त्यसैगरी एन प्याब्सन पर्साका अध्यक्ष जियालाल गुप्ता, नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, कलेजका म्यानेजिङ डाइरेक्टर विश्वास प्रतापलगायत विभिन्न क्षेत्रका अतिथि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कलेजले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक विकाससँगै नेतृत्व क्षमता, सिर्जनशीलता तथा व्यक्तित्व विकासमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।