पत्रकारिता आज केवल समाचार लेख्ने र प्रकाशित गर्ने कर्ममा सीमित छैन । प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रभाव, आर्थिक संकट, सूचनाको विश्वसनीयतामाथिको प्रश्न र पत्रकारको पेशागत सुरक्षाजस्ता विषयले पत्रकारिताको भविष्यकै स्वरूपबारे गम्भीर बहस जन्माइरहेका छन् । यही बदलिँदो परिवेशमा मध्य नेपाल साप्ताहिकको ११ औँ वार्षिक उत्सव पत्रकारिताले सामना गरिरहेका चुनौतीमाथि आत्ममन्थन गर्ने एउटा महत्वपूर्ण अवसर बनेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिताको संकटलाई केवल प्रविधि वा आर्थिक अभावको समस्याका रूपमा मात्र हेर्न नहुने धारणा राखे ।
उनीहरूका अनुसार अहिलेको मूल चुनौती पत्रकारिताको विश्वसनीयता, व्यावसायिकता र दिगोपनसँग जोडिएको छ । समाचार उत्पादन र वितरणको प्रविधि बदलिएको छ, तर पत्रकारिताको आधारभूत मूल्य–तथ्य, सत्य, उत्तरदायित्व र जनविश्वास बदलिनु हुँदैन ।
आज एउटा सूचना सामाजिक सञ्जालमा केही सेकेन्डमै हजारौं मानिससम्म पुग्न सक्छ । तर, तीमध्ये कुन सूचना सत्य हो, कुन आधा सत्य हो र कुन नियोजित भ्रम हो भन्ने छुट्याउने जिम्मेवारी झन् जटिल बनेको छ । यस्तो अवस्थामा सामाजिक सञ्जालसँग गति प्रतिस्पर्धा गर्नु पत्रकारिताको लक्ष्य हुन सक्दैन । बरू, सामाजिक सञ्जालभन्दा फरक र विश्वसनीय पहिचान निर्माण गर्नु नै पत्रकारिताको भविष्यको आधार बन्नुपर्नेमा बहस भयो ।
समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त ‘हरि’ले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए । पत्रकारितामाथि राजनीतिक वा आर्थिक दबाब सिर्जना गर्न नहुने उल्लेख गर्दै उनले राज्यका गतिविधिमाथि खबरदारी गर्ने सञ्चारमाध्यम र पत्रकारको पेशागत सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
तर, प्रेस स्वतन्त्रता स्वच्छन्दताको पर्याय हुन नसक्ने उनको धारणा थियो । पत्रकारिताका नाममा कसैको मानहानी वा मानमर्दन गर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै उनले विकृति सच्याएर पत्रकारितालाई अझ जिम्मेवार बनाउन आग्रह गरे । ‘स्वतन्त्र पत्रकारिताको रक्षा गर्दै त्यसको मर्यादा कसरी कायम गर्ने ? यसको उत्तर पत्रकारिताको आफ्नै व्यावसायिक अनुशासन र जवाफदेहितामा खोजिनुपर्छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिता क्षेत्रको आर्थिक संकटलाई वर्तमानको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे । उनले सरकार मिडियाप्रति पूर्ण पूर्वाग्रही बनेको आरोपसमेत लगाए, ‘आर्थिक रूपमा कमजोर हुँदै गएको सञ्चार क्षेत्रले राजनीतिक, व्यावसायिक वा अन्य स्वार्थको दबाबबाट कति स्वतन्त्र रहन सक्छ भन्ने प्रश्न भने यससँगै थप पेचिलो बनेको छ ।’
वास्तवमा आर्थिक रूपमा असुरक्षित पत्रकारिताबाट दीर्घकालीन स्वतन्त्रता अपेक्षा गर्नु आफैँमा विरोधाभासपूर्ण हुन सक्छ । सञ्चारमाध्यमसँग आफ्नै दिगो आम्दानीको मोडल छैन भने उसले कहिलेकाहीँ विज्ञापनदाता, राजनीतिक शक्ति वा अन्य आर्थिक स्रोतमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ । त्यसैले प्रेस स्वतन्त्रताको बहससँगै मिडियाको आर्थिक स्वतन्त्रताको बहस पनि समान रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।
आमसञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खड्गाले डिजिटल माध्यमको विस्तारलाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गरे । सामाजिक सञ्जालबाट आउने अपुष्ट सूचना, भ्रामक सामग्री तथा हतारमा समाचार प्रकाशन गर्ने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर पार्न सक्ने भएकाले तथ्य परीक्षण र आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेको उनले बताए । प्राधिकरणले मधेशका सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनमा काम गरिरहेको दाबी पनि उनले गरे ।
यहाँ अर्को प्रश्न उठ्छ–डिजिटल युगमा पत्रकारिताको प्रतिस्पर्धा गति हो कि विश्वसनीयता ? यसको उत्तर विश्वसनीयतामै छ । सामाजिक सञ्जालले छिटो सूचना दिन सक्छ, तर सत्यापन, सन्दर्भ र उत्तरदायित्वसहितको सूचना दिने संस्थागत जिम्मेवारी पत्रकारितासँग अझै छ । त्यसैले प्रविधिलाई चुनौतीका रूपमा मात्र होइन, पत्रकारितालाई अझ प्रभावकारी बनाउने औजारका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।
मिडिया काउन्सिल मधेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले पनि पत्रकारिता र सामाजिक सञ्जालबीचको अन्तर स्पष्ट गर्नुपर्नेमा जोड दिइन् । सूचना प्राप्त गर्ने माध्यमको संख्या बढ्दै गए पनि विश्वसनीय सूचना दिने जिम्मेवारी अझै पत्रकारिताकै रहेको उनको भनाइ थियो । पर्सा जिल्लामा आचारसंहिता उल्लंघनका विषय बढी देखिएको भन्दै उनले काउन्सिलले निगरानी गरिरहेको जानकारी दिइन् ।
उनको भनाइले पत्रकारिताको अर्को गम्भीर संकट देखाएको छ । सूचना धेरै हुनु र विश्वसनीय सूचना हुनु एउटै कुरा होइन । डिजिटल युगमा सूचना अभावको संकटभन्दा भ्रमको संकट ठूलो बन्दै गएको छ । त्यसैले पत्रकारको भूमिका सूचना प्रसारकभन्दा बढी सूचना छनोटकर्ता र सत्यापनकर्ताको हुन थालेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखे । स्थानीय तहका गतिविधि, विकास निर्माण, अनियमितता तथा नागरिकका सवाललाई निरन्तर उठाउने सञ्चारमाध्यम टिकाइराख्न राज्य र निजीक्षेत्र दुवैको सकारात्मक भूमिका आवश्यक रहेको उनले बताए ।
स्थानीय पत्रकारिता वास्तवमा लोकतन्त्रको सबैभन्दा नजिकको तह हो । राष्ट्रिय सञ्चारमाध्यमले नदेखेका वा प्राथमिकता नदिएका गाउँ, टोल, स्थानीय सरकार र नागरिकका सवाल स्थानीय सञ्चारमाध्यमले उठाउने गर्छन् । त्यसैले स्थानीय मिडिया कमजोर हुनु भनेको केवल एउटा पत्रिका वा सञ्चार संस्था कमजोर हुनु होइन, स्थानीय नागरिकको आवाज कमजोर हुनु पनि हो ।
खनालले मध्य नेपाल साप्ताहिकले व्यावसायिक पत्रकारिता र आचारसंहिता पालनाको सवालमा अनुकरणीय काम गरेको उल्लेख गर्दै प्रशंसा गरे । ‘मध्य नेपालले समाचार प्रकाशनमा मात्र सीमित नरही उत्पीडित, पिछडिएका वर्ग तथा समुदायको आवाज मुखरित गरेर समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको छ,’ उनको भनाइ थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजीक्षेत्र र सञ्चारमाध्यमबीचको सम्बन्धलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । ‘उद्योग–व्यवसायको विकासमा सकारात्मक र तथ्यपरक पत्रकारिताको भूमिका महत्वपूर्ण हुन्छ । विज्ञापनलाई केवल व्यावसायिक कारोबारका रूपमा नभई सञ्चार क्षेत्रको दिगोपनासँग जोडेर हेर्नु पर्दछ । सरकारले निजी सञ्चारमाध्यमलाई अन्याय गरेको छ,’ उनले भने ।
विज्ञापन मिडियाको आर्थिक मेरुदण्ड हुन सक्छ, तर विज्ञापनदाता र समाचारबीचको दूरी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सञ्चारमाध्यमको आर्थिक दिगोपनाका लागि निजीक्षेत्र आवश्यक छ भने निजीक्षेत्रको पारदर्शिता र उत्तरदायित्वका लागि स्वतन्त्र सञ्चारमाध्यम पनि आवश्यक छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुबोध गुप्ताले आर्थिक रूपमा सबल सञ्चारमाध्यमबिना स्वतन्त्र पत्रकारिता दीर्घकालसम्म टिक्न कठिन हुने धारणा राखे । निजी क्षेत्र, सञ्चारमाध्यम र राज्यबीच सहकार्यको वातावरण निर्माण गर्न सके पत्रकारिताको व्यावसायिकता र प्रभावकारिता दुवै बढ्ने उनको निष्कर्ष थियो ।
मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खड्काले सीमित स्रोतसाधन र अनेक चुनौतीका बीच पनि जनताको आवाज उठाउँदै आएको बताइन् । पत्रिकाको ११ वर्षको यात्रामा साथ र सहयोग दिने सबैप्रति उनले आभार प्रकट गरिन् । ‘एउटा समय थियो, बिहान घरको ढोकामा पत्रिका आइपुग्नु आफैँमा समाचारसँग जोडिने एउटा संस्कार थियो । पत्रकार र सञ्चारमाध्यमप्रतिको विश्वास सहजै स्थापित हुन्थ्यो । अहिले त्यो समय बदलिएको छ । सूचना हातमा रहेको मोबाइलमा आउँछ र केही मिनेटमै हजारौं मानिसको पहुँचमा पुग्छ,’ उनले भनिन्, ‘सूचना प्राप्त गर्न सजिलो भएको छ, तर विश्वसनीय सूचना पाउन झन् कठिन बन्दै गएको छ । यही परिवर्तनको बीचमा मध्य नेपाल साप्ताहिकले आफ्नो एघारौं वार्षिक उत्सव मनाएको छ । हामीले प्रविधिको भिडमा विश्वसनीय पत्रकारिताको पहिचान बनाउने निरन्तर प्रयास गरेका छौं ।’