वीरगञ्जस्थित विद्या सदन माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्। विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार भदौ १८ गते राखी बनाउने प्रतियोगिता, मेहेन्दी बनाउने प्रतियोगिता तथा क्विज प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, सिर्जनशीलता, ज्ञान तथा प्रतिभा प्रस्तुत गरेका थिए।
कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी रहेको राखी बनाउने प्रतियोगिता दुई समूहमा सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले आकर्षक, सिर्जनात्मक तथा कलात्मक राखी निर्माण गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको संयोजन सोनम कुमारी साहले गर्नुभएको थियो। समूह ‘ए’ अर्थात् कक्षा १ देखि ३ तर्फ अग्रता कुमारी साह कक्षा १ ‘वाई’ प्रथम, सलाउद्दिन रेन कक्षा २ ‘आर’ द्वितीय र सोरुका बस्नेत कक्षा १ ‘जी’ तृतीय भएका थिए। त्यसैगरी समूह ‘बी’ अर्थात् कक्षा ४ देखि ५ तर्फ सादिक अन्सारी कक्षा ५ ‘बी’ प्रथम, सिद्धि सर्राफ कक्षा ४ ‘वाई’ द्वितीय र अकृति कुमारी कानु कक्षा ४ ‘वाई’ तृतीय भएका थिए।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी मेहेन्दी बनाउने प्रतियोगितामा विद्यार्थीहरूले आकर्षक, कलात्मक तथा सिर्जनात्मक डिजाइन प्रस्तुत गरेका थिए। प्रतियोगिताको संयोजन कपिला श्रेष्ठले गर्नुभएको थियो। प्रतियोगितामा सजाहान खातुन कक्षा ६ ‘बी’ प्रथम, राजनन्दिनी सोनी कक्षा ६ ‘आर’ द्वितीय र राजिया खातुन कक्षा ८ ‘जी’ तृतीय भएका थिए।
विद्यालयका सम्पूर्ण कक्षाका विद्यार्थीका लागि खुला गरिएको क्विज प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो ज्ञान, तर्कशक्ति तथा बौद्धिक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगिताको संयोजन सुमन कुमार पटेल तथा निर्मला चौधरीले गर्नुभएको थियो। क्विज प्रतियोगितामा आयान अन्सारी कक्षा १०, यश यादव कक्षा ९ ‘बी’ र नेहा पण्डित कक्षा ७ ‘आर’ प्रथम भएका थिए। गौरव श्रेष्ठ र अंशिका चौधरी कक्षा ६ ‘बी’ तथा अफ्रिन खातुन कक्षा ७ ‘आर’ द्वितीय भएका थिए। त्यसैगरी खुश्बु पण्डित र सुनिधि झा कक्षा ८ ‘जी’ तथा राजनन्दिनी सोनी कक्षा ६ ‘आर’ तृतीय भएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा चोकोपन प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, बौद्धिक क्षमता, नेतृत्व क्षमता तथा सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन्। विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आगामी कात्तिक २० गते डान्स कम्पिटिसन तथा रङ्गोली कम्पिटिसन आयोजना गरिने भएको छ। उक्त प्रतियोगिता सम्पूर्ण विद्यार्थीका लागि खुला रहने विद्यालयले जनाएको छ।